काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उहाँका भारतीय समकक्षी द्रौपदी मुर्मूले साँझ टेलिफोन गरी नेपालको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको छ।

टेलिफोन संवादका क्रममा भारतीय राष्ट्रपति मुर्मूले नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो संघर्ष र योगदान पुर्‍याउने व्यक्ति नेपालको राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा खुशी व्यक्त गर्नुभएको राष्ट्रपति पौडेलका परराष्ट्र सल्लाहकार डा। सुरेशचन्द्र चालिसेले जानकारी दिनुभयो।

संवादका क्रममा दुवै राष्ट्रपतिले नेपाल र भारतबीच सदियौँ पुरानो सांस्कृतिक, धार्मिक तथा भौगोलिकरूपले अत्यन्त निकट र प्रगाढ सम्बन्ध भएको छिमेकी रहेको समान धारणा राख्दै आगामी दिनमा यो सम्बन्ध अझ सुमधुर र घनिष्ट हुने विश्वास व्यक्त गर्नुभएको थियो।

सोही अवसरमा राष्ट्रपति पौडेलले उहाँका भारतीय समकक्षी मुर्मूलाई नेपाल भ्रमण गरी पशुपतिनाथ दर्शन गर्न निमन्त्रणा दिनुभएको छ।

सम्बन्धित खबरहरु