काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री दाहालले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९” समेत पेस गर्नुहुनेछ । यसैगरी बैठकमा सांसदहरू ज्ञानबहादुर शाही र प्रेम सुवालले “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन)विधेयक, २०७९” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्नुभएको विरोधको सूचनाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची छ ।

साथै बैठकमा प्रेम सुवालले “संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राख्नुभएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने छ । बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउनु हुनेछ ।

सम्बन्धित खबरहरु