काठमाडौं । केही समयअघिसम्म व्यवस्था बदलिएपनि राष्ट्र प्रमुखको सवारी नबदलिएको भन्दै राष्ट्रपतिको सवारीलाई लिएर निक्कै आलोचना गरिन्थ्यो ।

जनताका छोराछोरी राष्ट्रको उपल्लो पदमा पुर्याउने गरी व्यवस्था बदलिएपनि शैली नबदलिएकोमा जनता दुखी थिए ।

तर राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक समारोहमा समेत सामान्य शैलीको सवारी प्रयोग गरेपछि अहिले प्रसंशा भइरहेको छ ।

गृह मन्त्रालयले बनाएको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, २०७७ अनुसार राष्ट्रपतिको औपचारिक समारोहको सवारीमा १६ वटा सवारीसाधन प्रयोग हुन्थ्यो ।

तर, मंगलबार भएको राष्ट्रपति पौडेलको औपचारिक समारोहमा जम्मा चार वटा सवारी साधन प्रयोग भए । केही दिन अघि कुमारी घर जाँदा कुनै बाटो जाम नगराई जनताकै सवारी साथसाथ जाँदा पौडेलको जो कोहीले खुलेर प्रसंशा गरे ।

मंगलबार घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा सहभागी हुन आउँदा राष्ट्रपति पौडेलले एउटा अगुवा, पछुवा र जगेडा गाडी मात्रै प्रयोग गर्नुभयो ।

जबकि, कार्यविधिमा प्रहरी वार्निङ मोटरसाइकल, अगुवा जिप, अति विशिष्ट व्यक्ति सुरक्षा निरीक्षक अगुवा कारदेखि पछाडि रहने राष्ट्रपतिको गाडीको दायाँ बायाँसहित ३–३ गरी ६ वटा आउट राइडर्स हुने व्यवस्था छ ।

त्यसको पछाडि अति विशिष्ट व्यक्ति सुरक्षा निरीक्षण पछुवा कार, जगेडा कार, प्रहरी अतिरिक्त महानिरीक्षकको कार, एम्बुलेन्स, प्रहरी पछुवा जिप र प्रहरी पछुवा मोटरसाइकलसहित सवारी साधन हुने व्यवस्था छ ।

तर पौडेलको मंगलबारका सवारीमा एउटा अगुवा, त्यसपछि क्रमशः आफ्नो गाडी, पछुवा र जगेडा गाडी प्रयोग गरेको देखिएको छ । पौडेल शीतल निवासबाट टुँडिखेलस्थित सैनिक मञ्च आउँदा सडक पनि पूरा खाली गराइएको थिएन ।

सैनिक मञ्चको कार्यक्रम सकिएर राष्ट्रपति बाहिरिँदा केहीबेर मात्र सडक खाली गराइयो । उहाँको सवारी अगाडि बढेपछि अन्य सवारी साधनलाई आवतजावत गर्न दिइएको थियो । राष्ट्रपति पौडेलको सवारीअघि राष्ट्रपति कार्यालयले यसको व्यवस्थापनका लागि गृह मन्त्रालयसँग परामर्श गरेको थियो ।

विगतमा राष्ट्रपतिको सवारी निकै तामझामपूर्ण भएको र सर्वसाधारणलाई हिँडडुलमा रोक लगाएको भन्दै आलोचना हुने गरेको थियो ।

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि अनुसार राष्ट्रपति दैनिक कार्यालय जाँदा समेत मंगलबारको सवारीभन्दा एउटा कार र मोटरसाइकल बढी प्रयोग गर्नुपर्ने हुन्छ । गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भीआईपी सुरक्षा कार्यविधि समेत परिवर्तन गर्न लागिएको जानकारी दिनुभयो ।

‘यो कार्यविधि संशोधन गर्नका लागि प्रस्ताव गरिए बमोजिम भएको सवारी हो’, उहाँले भन्नुभयो, ‘उपत्यकाभित्रको आवगमनलाई असर नपर्ने गरी सवारी सहज बनाउने गरी संशोधन गर्ने प्रस्ताव गरेका छौं ।’

यद्यपि, पहिले भएको व्यवस्था पनि नहटाइने उहाँले बताउनुभयो । ‘कतिपय राजकीय भ्रमण वा विदेशी पाहुना आउँदा आवश्यक पर्नसक्छ, त्यसैले अरु व्यवस्था पनि यथावत राखेर कतिपयमा घटाउन सक्ने प्रावधान राख्न लागेका छौं’, बस्नेतले भन्नुभयो ।

सम्बन्धित खबरहरु