CA buildingजनबोली/२२ माघ, काठमाडौ । संविधानसभाको बैठक आज बस्दैछ । माघ ११ गते प्रक्रिया सुरु भएसँगै अनिश्चित बनेको संविधानसभाको बैठक आज बोलाइएको हो ।

संविधानका अन्तर्वस्तुमा भएका असहमतिलाई प्रश्नावली बनाउने जिम्मा पाएको प्रस्ताव निर्माण समितिलाई आजको बैठकले म्याद थप गर्नेछ । आफूलाई उपलब्ध गराएको समय कम भएको भन्दै पाँच दिन थप गर्न प्रस्ताव गरेपछि आज संविधानसभाबाट अनुमोदन हुने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।

संविधानसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ । माघ ११ गते बसेको संविधानसभा बैठकमा अध्यक्ष सुबासचन्द्र नेम्वाङ आफैले प्रस्ताव गरेर प्रश्नावली समिति बनाएका थिए । त्यसको पाँच दिनपछि मात्रै काम थालेकोे प्रश्नावली समितिले सामान्य मानिएका तीनवटा विषयमा नमुना प्रश्न बनाउन ५ दिन खर्चेको छ भने जटिल मानिएको ४ वटा विषय अझै बाँकी छन् ।

प्रश्नावली समितिले अहिलेसम्म संविधानको प्रस्तावना, मौलिक हक र संविधान संसोधनको विषयमा नमुना प्रश्नावली तयार गरेको छ । तर मुख्य विवादित मानिएको राज्यकोपनुरसंरचना, शासकीय स्वरुप, न्यायप्रणाली र निर्वाचन प्रणालीमा छलफल हुन पाएको छैन ।

त्यसैले थप पाँच दिनको समय माग्ने निर्णय गरिएको सदस्य रमेश लेखकले जानकारी दिए । उपसमितिको बैठक बिहान आज पनि बोलाइएको उनले बताए । संविधानको प्रस्तावना, संशोधनीय र असंशोधनीय र मौलिक अधिकारको बाँडफाँडका विषयमा भने प्रश्नावली तयार भइसकेका छन् । माघ ११ गतेको संविधानसभा बैठकले पहिलो बैठक बसेको पाँच दिनभित्र प्रश्नहरु तयार गर्ने गरी समिति गठन गरेको थियो ।

सम्बन्धित खबरहरु