baburam_20141118044046_20141118054924जनबोली/२२ माघ, गोरखा । एमाओवादीका नेता बावुराम भट्टराईले कांग्रेस-एमालेको नकचरो लोकतन्त्रको विरुद्ध सत्य र न्यायको पक्षमा संघर्ष गर्न लागेको दावी गरेका छन् ।

पार्टीले दिएको पश्चिम कमाण्डको अभिमत बुझने जिम्मेवारी पूरा गर्न हिंडेको भन्दै उनले विहीबार विहान गृह जिल्लामा भने 'क्रान्ति र परिवर्तनको एजेण्डा गुमेकोले संविधान सभा छाडेर हिडेका हौँ ।' सत्तापक्षीय दलहरु विगतको सम्झौता विपरीत गएकाले संविधानको बैठक मात्र वहिष्कार गरेको उनले प्रष्ट पारे ।

'सधैका लागि होइन फागुन १६ गते सम्मका लागि मात्रै संविधान सभा र व्यवस्थापिकाको बैठक छाडेका हौँ', उनले भने, 'संविधान नै बहिष्कार गरेका छैनौँ ।'

कांग्रेस एमालेले समानुपातिक समावेशी लोकतन्त्र नमानेपछि उनीहरुसँग लडाइँ सुरु भएको भट्टराईले बताए । 'एमालेले नमानेपछि कांग्रेसले पनि मानेनन', उनले भने, 'कांग्रेसलाई हिजोआज एमालेको मोहनी लागेको छ ।'

उनले एमाले अध्यक्ष केपी ओलीलाई नेपालकै छुद्र नेता भएको आरोप लगाए । 'केपी ओलीको म टिप्पणी गर्न चाहन्न', उनले भने, 'नेपालको छुद्र नेता को हो ? भनेर केटाकेटीलाई सोध्यो भने पनि उनकै नाम लिन्छन ।' पार्टीले युद्धको बेलामा जस्तै आफुलाई बुढीगण्डकीदेखि महाकालीसम्मको पश्चिम कमाण्डको जिम्मा दिएको भन्दै डा. भट्टराईले खुसी व्यक्त गरे ।

उनले भने 'सत्य र न्यायको पक्षमा लागेर जित्छौँ, रमाईलो र रोचक लागेको छ ।' जनताको आँधिबेहेरीबाट संविधान सभा आएको भन्दै उनले इतिहास फेरि दोहोरिने दावी गरे ।

फागुन १० गते पछि मात्रै काठमाडौ फर्कने उनले जानकारी दिए । 'पोखरा, बुटबल, नेपालगञ्ज, दीपायल, धनगढी, जुम्ला,  रोल्पा, रुकुम पुगेर र्फकन्छु', उनले भने । गोरखामा भने उनी कार्यकर्ता भेटघाटसँगै निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र चेपाङ विकास कार्यक्रमको बैठकमा सहभागी भएका छन् ।

सम्बन्धित खबरहरु