baburam_20141118044046_20141118054924जनबोली/२४ माघ, बुटवल । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता बाबुराम भट्टराईले एमाओवादीले संविधानसभा नछोडेको बताएका छन्।

‘हामी संविधानसभा छोडेर भागेका छैनौं। संविधानसभा हामी आफैंले बनाएका हौं। आफैंले बनाएको हतियार कसैले खोसेर आफैंविरुद्ध दुरुपयोग हुन लाग्यो भने ज्यान जोगाउनु पर्छ कि पर्दैन?', पश्चिम कमाण्डअन्तरर्गत अगुवा कार्यकर्ताहरुलाई वैचारिक/राजनीतिक प्रशिक्षणका लागि बुटवल पुगेका भट्टराईले पत्रकार भेटघाटका क्रममा भने, ‘हामी अहिले यथास्थितिवादी/प्रतिगामी शक्तिहरुबाट अपहरित संविधानसभा उत्पीडित वर्गको हातमा फर्काउन शक्ति आर्जनका लागि जनतामाझ आएका हौं।'
नेता भट्टराईले अहिलेको समस्याको मूल जड एमाले भएको बताए। एमालेले निर्वाचनका बेला जनतासामु गरेको बाचा र अडानलाई छोडेर कांग्रेसको एजेण्डामा आफूलाई सहबरण गर्दा समस्या उत्पन्न भएको उनको जिकिर छ। कांग्रेससँग मिलेर अघि सारेको ९ बुँदे प्रस्तावमा एमालेले निर्वाचनका बेला उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, बहुपहिचानमा आधारित संघीयता, मिश्रित निर्वाचन प्रणाली सबै छोडेर पुरानै संसदीय उदारवादी लोकतन्त्रमा आधारित संसदीय व्यवस्था, संघीयताका नाममा पहिचानविहिन प्रशासकीय बाँडफाँड, पहिलो हुने निर्वाचन प्रणाली स्वीकार गर्दा नै अहिलेको समस्या उत्पन्न भएको उनले बताए।
नियम, विधिको अभ्यास मिचेर जबर्जस्ती माघ ११ गते कांग्रेस–एमालेबाट अघि बढाइएको मतदानको प्रक्रिया स्थगित नगरेसम्म सार्थक वार्ता हुन नसक्ने बताउँदै उनले सत्तापक्षीले नै वार्ताको वातावरण निर्माण गर्नुपर्ने बताए। माघ ८ अघि नै आफूहरु संवाद र सहमतिका आधारमा समस्या सुल्झाउन तयार भएपनि सत्तापक्षी दलहरुले नै वार्तामा नबस्ने निर्णय गर्दा अहिलेको समस्या उत्पन्न भएको उनको जिकिर छ। राज्यसत्ताको चरित्र निर्धारण गर्ने मुख्य विषयमा प्रमुख दलहरुबीच सहमतिकै आधारमा संविधान जारी हुनुपर्ने कुरा दोहोर्या उँदै नेता भट्टराईले मतदानको प्रक्रिया रोकिए फेरि दलहरुबीच संवादको प्रक्रिया अघि बढ्ने बताए।

सम्बन्धित खबरहरु