adbजनबोली/४ फागुन, पर्सा । कृषि विकास बैंक वीरगन्ज शाखाबाट कर्जा लिएर नतिर्नेको सूचीमा सभासददेखि ठूला उद्योगीसम्म रहेका छन् ।

वीरगन्ज क्षेत्रमा राजनीति गर्ने सभासददेखि ठूला घरानाका उद्यमीसमेत रहेको जिल्ला कृषि विकास बैंक वीरगन्ज पर्साले जनाएको छ ।

विशेषगरी बेला–बेलामा सरकारले कृषि बैंकबाट लिइएको ऋण मिनाहा गर्ने गरेका कारण कुनै समयमा फेरि ऋण मिनाहा हुन्छ कि भन्ने आश र लोभका कारण लिएको कर्जासमेत उनीहरुले चुक्ता गर्न आलटाल गरिरहेको कृषि बैंकका कर्मचारीले बताएका छन् ।

बैंकका शाखा प्रबन्धक पदम गौतमका अनुसार कर्जा रकम लिनेका पर्सा क्षेत्र नम्बर २ का सभासद् विचारी यादव र बारा क्षेत्र नम्बर ४ का सभासद् नजमा खातुन रहेकी छिन् ।

यद्यपि ऋण खातुनले नभई उनका पति महमुद आलमले लिएको भए पनि उनको हत्या भएका कारण ऋण चुक्ता गर्ने अभिभारा सभासद् खातुनको थाप्लोमा आएको हो ।

सभासद् भन्दैमा आफूहरुले कर्जा लिन छाड्न नमिल्ने तर्क शाखा प्रमुख गौतमको छ ।

उनले सभासद् यादवको नाउँमा साँवा १६ लाख ४९ हजार १७६ रुपैयाँ रहेको र ब्याज ३४ लाख ४६ हजार ५१४ रुपैयाँ रहेको जानकारी दिए ।

यसरी नै सभसाद् खातुनले साँवा १० लाख र ब्याज ५८ लाख गरी ६८ लाख रुपैयाँ आफूहरुलाई बुझाउन बाँकी रहेको गौतमले जानकारी दिए ।

यसरी नै वीरगन्जका विभिन्न प्लास्टिक उद्योग र विभिन्न प्रकारका अन्य उद्योगले साँवा लिएर र ब्याज नतिरेको कृषि विकास बैंकले जनाएको छ ।

बैंकले विभिन्न व्यक्ति तथा संस्थाबाट चार करोड ब्याज र आठ करोड ६८ लाख साँवा असुली गर्न बाँकी रहेको बैंकले जनाएको छ ।

सम्बन्धित खबरहरु