Baburamजनबोली/४ फागुन, घोराही । एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भटराईले शान्तिप्रक्रियाबारे कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइराला र एमाले अध्यक्ष केपी ओलीको बुझाई स्पष्ट नभएको बताएका छन् ।

‘शान्ति प्रकृयाका बिषयमा गिरिजाप्रसाद कोईराला र माधव नेपाललाई सबै थाहा छ तर पछि पार्टीको नेतृत्वमा आएका सुशील र केपीलाई केही थाहा पनि छैन र रुचि पनि छैन,’ भट्टराईले सोमबार दाङमा आयोजित अन्तरक्रियामा भने ।

शान्ति सम्झौता हुँदा माओवादीले सबै लग्यो भन्ने भय उनीहरुको मनमा पसेको भट्टराईको भनाइ छ । उनले पछिल्लो समय कांग्रेस र एमालेबीच अस्वाभाविक साँठगाँठ भएको टिप्पणी पनि गरे ।

उनले भने, ‘म अहिले पनि उनीहरुसँग आँखा जुधाएर भन्न सक्छु, माओवादी शान्ति प्रक्रियामा आउँदा कोइराला र ओलीलाई पटक्कै मन परेको थिएन र उनीहरुको बुझाईमा पनि कमजोरी छ ।’

सत्ता पक्ष नसच्चिएसम्म आफूहरुको सडक आन्दोलन नरोकिने भट्टराइले बताए । उनले आन्दोलनबाट सरकारलाई घुँडा टेकाएरै छोड्ने उदघोष समेत गरे ।

‘सत्ता पक्षले बेलैमा आन्दोलनलाई चिनेन भने स्थिती जटिल बन्दै जाने छ र समान्तर सरकार,  समानान्तर संविधानसभाको खोजी हुँदै गए झनै अप्ठेरो पर्ने छ,’ उनले भने ।

बहुमतीय प्रकृयाको सार्वजनिकरुपमा खारेजीको प्रतिबद्धता आए मात्रै वार्तामा बस्ने भट्टराईले स्पष्ट पारे । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशीता लगायतका विषयमा सहमति हुनैपर्नेमा उनले जोड दिए ।

बहुमतको अहंकारबाट अग्रगामी संविधान बन्न नसक्ने भन्दै भट्टराईले तत्काल बहुमतीय प्रकृयाको खारेज गरेर छलफलको वातावरण बनाउनु पर्ने बताए ।

सहमति गर्ने नाममा बहुमतको तरवार टाउकोमा राख्दिएर वार्तामा आउ भन्नु नालायकपन भएको उनले टिप्पणि गरे ।

सम्बन्धित खबरहरु