Sushil Koiralaजनबोली/८ फागुन, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले इज्जत र सम्मानसहितको शान्ति विश्वभर फैलाउने आफ्नो लक्ष्य रहेको बताएका छन् । उनले नेपालको शान्ति प्रक्रिया पूरा हुनै लागेको पनि बताए ।

विश्व शान्ति महासंघ नेपालले शुक्रबार ललितपुरमा गरेको अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलनलाई सम्वोधन गर्दै प्रधानमन्त्री कोइरालाले भने-‘एसियामार्फत विश्वमा इज्जत र सम्मानसहितको शान्ति र एकता फैलाउने सरकारको लक्ष्य छ ।’

गौतम बुद्ध र महात्मा गान्धीले देखाएको अहिंसाको बाटोबाटै शान्ति, स्थायित्व र विकासको लक्ष्य प्राप्त गर्ने उनको भनाइ थियो ।
नेपालले विश्वका सबै मुलुकसँग मैत्रीपूर्ण सदभाव कायम राख्दै आएको भन्दै उनले प्रजातान्त्रिक मूल्य मान्यताअनुरुप अधिकतम लचक भएर समावेशी प्रजातन्त्र संस्थागत गर्न अग्रसर रहेको बताए ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा एमाले नेता माधवकुमार नेपालले विभिन्न आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न संविधान बन्नु अपरिहार्य रहेकामा जोड दिए ।

कार्यक्रममा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले समावेशी प्रजातन्त्रले मात्रै सबै जनताका सबै मानवअधिकारको प्रत्याभूति गर्ने धारणा राखे ।

कार्यक्रममा विश्व शान्ति महासंघका अध्यक्ष चार्ल्स एस यङ, विश्व शान्ति महासंघका सभापति थोमस जि वाल्स, विश्व शान्ति महासंघ एसियाका अध्यक्ष डा चुङ सिक योङ, भारतको उत्तराखण्ड प्रदेशका पूर्व मुख्यमन्त्री तथा लोकसभा सदस्य भगतसिंह कोस्यारी लगायतले पनि धारणा राखेका थिए ।

तस्वीर : रासस

सम्बन्धित खबरहरु