जनबोली/११ फागुन, पर्सा । बारा र मकवानपुरको सिमानामा सडकनजिकै रहेको प्रसिद्ध चुरियामाई मन्दिर मालवाहक ट्रकको ठक्करबाट आइतबार भत्किएको छ ।
वीरगन्जबाट धान लिएर हेटौँडातर्फ जाँदै गरेको ना।३ख। २६४६ नम्बरको ट्रकले ठक्कर दिँदा मन्दिर भत्काएको हो । भारी लिएर उकालो चढ्दै गरेको ट्रकको बे्रक फेल भएर पछाडि सर्ने क्रममा मन्दिर भत्किएको हो । ठक्करबाट सडक किनारमा रहेको मन्दिर पूर्णरुपमा ध्वस्त भएको छ ।

सडकबाट झन्डै ५०० मिटर माथि डाँडामा रहेको चुरियामाईको मुख्य मन्दिर प्रवेशद्वारमा रहेको सहायक मन्दिर लाखौँ भक्तजनले मुख्य मन्दिरकै रुपमा पूजाअर्चना गर्ने गर्दै आएका थिए ।

माथिसम्म हिँडेर जान नसक्नेहरु, हतारमा रहेकाहरुका लागि चुरियामाई दर्शन गर्न सहजता होस् भनी बिसौँ वर्षअगाडि सो मन्दिर निर्माण भएको हो ।
मन्दिरलाई ठक्कर दिई भत्काउने गाडीका चालक घटनास्थलमा नै ट्रक छाडी फरार भएका छन् भने ट्रक ट्राफिक प्रहरीको नियन्त्रणमा रहेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जानकारी दिएको छ ।

नयाँ सवारीसाधन खरिद गर्नेहरुले अनिवार्य रुपमा चुरिया मन्दिरमा लगेर पूजा गरेपछि मात्र व्यावसायिक रुपमा सञ्चालन गर्ने गरेका छन् भने सवारी चालक, यात्रु र सवारीधनीले चुरियामाईको पूजाअर्चना गरे राम्रो हुने विश्वास गर्ने गरेको पाइन्छ ।

सम्बन्धित खबरहरु