२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

भारतीय मिडिया भन्छन्, ‘बालेनको चेतावनीपछि ‘आदिपुरुष’ का मेकरले संवाद हटाए’

Adipurush movie balen shah

काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको हिन्दू धर्म ग्रन्थ रामारणमा आधारित भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवाद भारतमा नसच्चाए काठमाडौंभित्र कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न नदिने काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) को चेतावनीपछि फिल्मका मेकरले उक्त संवाद हटाएको प्रतिष्ठित भारतीय मिडियाहरुले बताएका छन् ।

टाइम्स नाउले समाचारमा लेखेको छ, ‘फिल्ममा प्रभासले बोलेको ‘जानकी भारतकी बेटी हैं’ भन्ने संवादलाई लिएर नेपालमा आपत्ति जनाइएपछि मेकरले विवादबाट टाढा रहन उक्त संवाद हटाउने निर्णय गरेका छन् ।’ नेपालमा फिल्म ‘ब्यान्ड’ हुने भयले नै मेकरले उक्त संवाद हटाएको टाइम्स नाउले उल्लेख गरेको छ । तर, फिल्मबाट संवाद हटाउने निर्णयको भारतमा विरोध हुन थालेको छ ।

काठमाडौंका मेयर शाहले बिहीबार फेसबुकमा स्टाटस लेख्दै तीन दिनभित्रमा फिल्ममा समावेश संवाद भारतमा सच्चाउन चेतावनी दिएका थिए । उनको यो अभिव्यक्तिलाई सामाजिक सञ्जालमा व्यापक समर्थन मिलेको छ । उनको स्टाटसलाई भारतीय मिडियाले समेत विशेष स्थान दिएका छन् । तर, फिल्मबाट उक्त संवाद हटाइएको आधिकारिक जानकारी भने निर्माण टिमले दिएको छैन ।

नेपालको केन्द्रीय चलचित्र जाँच समितिले पनि फिल्ममा समावेश जानकी सम्बन्धी संवादमा आपत्ति जनाउँदै जाँचपासको प्रमाणपत्र दिएको थिएन । बिहीबार फिल्मका नेपाल वितरकले उक्त संवादमा म्यूट गरेपछि प्रदर्शनको अनुमति दिइएको थियो । बाल्मिकि रामायणका अनुसार, सीताको जन्म हालको जनकपुरमा भएको थियो । देवी सीता मिथिलाका राजा जनककी जेठी छोरी थिइन् ।

 

प्रकाशित मिति : २०८० असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस