२०८३ असोज २५ गते आइतवार | 2026 October 11th Sunday

आज गाईजात्रा पर्व मनाइँदै

काठमाडौं । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिंगारी आ(आफ्नो क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दही खुवाउने चलन छ । यसो गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

गाईजात्राको अवसरमा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रस्तुति सहितका कार्यक्रम गर्ने चलन छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ(आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको बताइन्छ । यति गर्दा पनि रानी शोकबाट मुक्त हुन नसकेपछि विभिन्न प्रकारका व्यंग्यात्मक कार्यक्रम समेत गराउन आदेश दिएपछि हास्यव्यंग्यको चलन सुरु भएको जनश्रुति छ । आजै रक्षाबन्धन र जनैपूर्णिमा पर्व पनि मनाइँदै छ । तिथि घटबढका कारण रक्षा बन्धन, जनैपूर्णिमा र गाईजात्रा पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

 

प्रकाशित मिति : २०८० भाद्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस