२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

५० वर्षपछि भेटियो हराएको पञ्चमुखी मूर्ति

The missing five-faced idol was found after 50 years

अर्घाखाँची । २०३० सालमा हराएको मूर्ति भेटिएको छ। सन्धिखर्क नगरपालिका-९ स्थित अर्घा भगवती मन्दिरबाट २०३० सालमा हराएको पशुपतिनाथको पञ्चमुखी मूर्ति भेटिएपछि विधिवत् रूपमा प्रतिस्थापन गरिएको छ।

बाइसे-चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा मन्दिर तथा दरबारमा वैदिक विधिपूर्वक पूजाआजा गरी पन्चेबाजा बजाएर शुभ साइतमा मन्दिरमा मूर्ति पुनः प्रतिस्थापन गरिएको सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए।

५० वर्षअघि २०३० वैशाख २५ गते अर्घा भगवती मन्दिरबाट चोरी भएको पञ्चमुखी शंकर भगवान्को मूर्ति शुक्रबार बिहान शुभ साइत जुराएर वैदिक विधिपूर्वक मन्दिरमा प्रतिस्थापन गरिएको हो। बाइसे-चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा दरबार अर्थात् अर्घा भगवती मन्दिरमा पहिले धेरै देवीदेवताका मूर्ति रहेका र २०३० सालमा चोरहरूले मन्दिर फोडेर बहुमूल्य धातुका धेरै मूर्ति चोरी गरेका थिए। तिनै मूर्तिमध्ये शंकर भगवान्को मूर्ति रहेको अर्घा मन्दिरका पुजारी केशवराज आचार्यले बताए।

आचार्यका अनुसार मूर्ति हराएपछि खोजतलास गर्दै जाँदा अदालतमा मुद्दा चलेको थियो। हराएका मूर्तिमध्ये एउटा मूर्ति तत्कालीन अञ्चल अदालतमा रहेको भन्ने जानकारी प्राप्त भएपछि खोजी कार्य गरिएको थियो। स्थानीय बुढापाका, सरोकारवाला तथा जानकारहरूले सनाखत गर्दा अर्घा दरबारको मूर्ति नै हो भन्ने यकिन भएपछि ल्याएर प्रतिस्थापन गरिएको हो।

‘जाँचबुझ गर्दा पञ्चमुख भएको मूर्ति अर्घा दरबारकै हो भन्ने प्रमाण फेला पर्‍यो,’ पुजारी आचार्यले भने, ‘सनाखत गरेर अदालतबाट मूर्ति ल्याएर शुभ साइतमा प्रतिस्थापन गरेका छौं।’ ५० वर्षदेखि हराएको मूर्ति झन्डै ४ सय वर्ष पुरानो हुन सक्ने अनुमान गरिएको छ। बडादसैंमा विशेष पूजाआजा हुने यस मन्दिरमा देवी भागवत, वेद पाठ पारायण तथा दूर्गा सप्तशती पाठ हुनुका साथै कोजाग्रत पूर्णिमाको दिन विशेष ‘सराएँ’ नाच हुने गर्दछ।

 

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस