२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

शक्तिपीठको दर्शनमा राष्ट्रपति सपरिवारको दौडधुप

The President's family hindu Shaktipeeth pooja

५ कार्तिक, काठमाडौं । बडादशैँअन्तर्गत महाअष्टमी पर्वका अवसरमा आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंका महत्त्वपूर्ण शक्तिपीठको दर्शन गरेका छन्। शक्तिपीठमा दर्शनका क्रममा उनकी धर्मपत्नी प्रथम महिला सविता पौडेल र परिवारका सदस्यहरु पनि सहभागी थिए ।

राष्ट्रपति पौडेलले नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवती पुगी दर्शन गर्नुका साथै टीका र प्रसाद ग्रहण गरे।

दशैँका अवसरमा हरेक वर्ष राष्ट्र प्रमुखले उपत्यका र उपत्यका बाहिरका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ। सोही परम्पराअनुसार राष्ट्रपति पौडेल आइतबार बिहान काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–९ स्थित पलाञ्चोक भगवती मन्दिरमा दर्शन एवं पूजाआज गरेका थिए। बडादशैँको आठौँ दिन आइतबार मुलुकभर माता दुर्गा भवानीको पूजा आराधना गरी मनाइएको छ। काठमाडौं उपत्यकाका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, संकटा आदि शक्तिपीठमा पूजाअर्चना गर्ने प्रचलनअनुरुप दर्शनार्थीको घुइँचो लागेको थियो। त्यसैगरी, राजधानी बाहिरका महत्त्वपूर्ण शक्तिपीठमा पनि आइतबार भगवतीको पूजाअर्चना गरिएको छ।

 

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस