२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

प्रसिद्ध निङ्गलाशैनी मन्दिरमा जात्रा सम्पन्न : छ सय पशुबलि चढाइयो

Jatra completed at the famous Ninglashaini temple

५ कार्तिक, बैतडी । दशरथचन्द नगरपालिका २ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा लागेको जात्रा सम्पन्न भएको छ।

महासप्तमीबाट सुरू भएको जात्रा आज महाअष्टमीमा राँगा र बोकाको बलिसहित सम्पन्न भएको निङ्गलाशैनी धार्मीक सेवा समितिका कोषाध्यक्ष चक्र बहादुर बोहराले जानकारी दिए।

प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा २ सय राँगा र ४ सय बोकाको बलि दिइएको हो। निङ्गलाशैनी भगवती मन्दिरमा सुदूरपश्चिमकै सबैभन्दा बढी पशुबलि दिने गरिन्छ। भाकल अनुसार राँगा तथा बोकाको बलि दिने प्रचलन रही आएको छ। निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा टाढा–टाढाका भक्तजनहरू आएका थिए। निङ्गलाशैनी माताको हजारौँ दर्शनार्थीहरूले दर्शन गरेका गरेका जनाइएको छ।

जात्रामा नेपालका मात्रै नभएर भारतका विभिन्न ठाउँबाट समेत दर्शनार्थीहरू पुगेका स्थानीय दीपेन्द्र बहादुर बोहराले बताए। निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रही आएको छ। जात्रालाई मार्यादित र व्यवस्थित बनाउनका लागि देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको दशरथचन्द नगरपालिका–२ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताए।

यस्तै मेलामा शान्ति सुव्यवस्था कायम गर्नका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, योगेश खत्रीले जानकारी दिए। ​निङ्गलाशैनी भगवती मन्दिरमा वर्षमा चारपटक पुजाआजा हुने गरेको छ। दशैंको महाष्टमी र चैत्राष्टमीमा लाग्ने जात्रा बलिसहित हुने भए पनि अनन्त चतुर्दशी र मंसिर शुक्ल पूर्णिमाका दिन लाग्ने मेलामा बलि दिइँदैन।

 

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस