२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भिजिट भिसा नेपाली विदेश पठाउने गिरोहमा संलग्न विमानस्थलमा कार्यरत प्रहरी पक्राउ

१४ कात्तिक, काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसामा नेपालीलाई विदेश पठाउने गिरोहमा संलग्न रहेको आरोपमा एक जना प्रहरी जवान नै पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान जीवराज तामाङलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको एसपी रवीन्द्र रेग्मीले बताए ।

प्रहरीले यही प्रकरणमा उदयपुरका ३० वर्षीय आशिष श्रेष्ठलाई पनि पक्राउ गरेको छ । श्रेष्ठले ५ लाख रुपैयाँ लिएर भिजिट भिसामा एक व्यक्तिलाई पठाउन लागेका थिए । त्यसका लागि उनले प्लस टुको सर्टिफिकेट नक्कली बनाइदिएका थिए । नक्कली शैक्षिक प्रमाणको आधारमा रकम असुली गरेर विदेश पठाउन खोजेको विषयमा उजुरी परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । त्यसक्रममा सुरुमा आशिष पक्राउ परेका थिए । उनको बयानका आधारमा प्रहरी जवान जीवराजको संलग्नता खुलेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

तामाङले सेटिङमा जाने व्यक्तिहरुलाई विमानस्थलको जाँच पार गराउन भूमिका खेल्ने गरेको आरोप लागेको छ । उनले भने इन्कारी बयान दिँदै आएका छन् । प्रहरीले प्राविधिक पक्षको विश्लेषण गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ परेका दुवै जनालाई अपराध अनुसन्धान कार्यालयले थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाएको छ ।

जनबोली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रकाशित मिति : २०८० कार्तिक १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस