२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

महिला राष्ट्रिय टिमको कप्तानी इन्दु बर्मालाई

The captaincy of the women's national team is given to Indu Barma

काठमाडौं । नेपाल क्रिकेट संघ ( क्यान ) ले ११ वर्ष महिला राष्ट्रिय क्रिकेट टिमको कप्तानी सम्हालेकी रुबिना क्षेत्रीलाई कप्तान बाट हटाएको छ। रुबिनाको स्थानमा अलराउण्डर इन्दु बर्मालाई नयाँ कप्तान नियुक्त गरिएको छ। यस्तै बिन्दु रावललाई उपकप्तान नियुक्त गरिएको छ। कप्तानबाट हटाइएता पनि रुबिना राष्ट्रिय टिममा भने निरन्तर छिन्।

सन् २०१२ मा क्यानले रुबिनालाई महिला टिमको कप्तानी सुम्पेको थियो। उनले त्यसबेला नेरी थापालाई प्रतिस्थापन गरेकी थिईन्। रुबिना सन् २००९ देखि राष्ट्रिय टिमबाट निरन्तर खेल्दै आएकी छिन्। उनको कप्तानीमा नेपालले २०१९ देखि २०२३ सम्म ४६ वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्दा ३२ मा जित र १३ खेलमा हार बेहोरेको छ।

नव कप्तान इन्दु बर्मा सन् २०११ देखि नेपाली महिला राष्ट्रिय टिमको प्रतिनिधित्व गर्दै आएकी छिन्। दायाँ हाते ब्याटर तथा मिडियम पेस बलर इन्दुले २०१० मा नेपाली अन्डर-१९ राष्ट्रिय टिमको लागि डेब्यु गरेकी थिईन्। नेपालको लागि ४४ टि-ट्वान्टी अन्तर्राष्ट्रिय खेलेकी इन्दुले एक अर्धशतक मद्दतले ४९३ रन बनाउनुको साथै २३ विकेट पनि लिएकी छिन्।

हंगकंग सिरिजको लागि टिम घोषणा

१५ देखि १९ नोभेम्बरसम्म हंगकंगमा आयोजना हुने चार देश सम्मिलित टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको लागि क्यानले १४ सदस्यीय टिमको घोषणा गरेको छ। घोषित टिममा युवा खेलाडीहरुलाई प्राथमिकता दिंदै तथा कप्तान परिवर्तन गर्दै महिला क्रिकेटमा परिवर्तनको संकेत गरेको छ। टिममा युवा र फिट खेलाडीलाई प्राथमिकता दिईएको छ।

घोषित टिम : इन्दु बर्मा ( कप्तान ) , बिन्दु रावल ( उपकप्तान ) , रुबिना क्षेत्री, सिता राना मगर, अश्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कन्चन श्रेष्ठ, सोमु बिस्ट, पुजा महतो, रोमा थापा, संगीता राई, खुशी डंगोल, सम्झना खड्का, सोनी पाख्रिन।

प्रतियोगितामा नेपालले पहिलो खेल नोभेम्बर १५ तारिखमा तान्जानियासंग, दोश्रो खेल नोभेम्बर १६ तारिखमा हंगकंगसंग तथा तेश्रो खेल नोभेम्बर १८ तारिखमा जापानसंग खेल्ने तालिका छ ।

 

प्रकाशित मिति : २०८० कार्तिक २५ गते शनिवार
प्रतिक्रिया दिनुहोस