२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

पितृका नाममा बिहानैदेखि छर्न थालियो शतबीज

In the name of the death parents, seeds were sown from early morning

२५ मंसिर, काठमाडौं । बालाचतुर्दशी अन्तर्गत पितृका नाममा आज शतबीज छरिएको छ । अघिल्लो दिन साँझ दीपदान गरी रातभर भजनकीर्तन गरेर जाग्राम बसेकाहरुले बिहानको झिसमिसेमा शतबीज छरेका हुन् ।

प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन दीपदान गर्ने र चतुर्दशीका दिन शतबीज छर्ने परम्परा छ । सोमबार बिहान काठमाडौंको पशुपतिनाथ मन्दिर वरपर शतबीज छर्नेहरुको घुइँचो थियो । पशुपति क्षेत्रको १०८ शिवलिंग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुहृयेश्वरी, मृगस्थली, विश्वरूप, किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।

शतबीज छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्‍याइदिन अनुरोध गर्ने चलन छ ।

शतबीज छर्न पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुहृयेश्वरीको पूजा अनिवार्य गर्नुपर्ने शास्त्रीय वचन छ ।
शतबीजमा हाल धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर छर्ने चलन छ । तर, नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम भन्छन्, ‘हेमाद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्छ, अरु होइन ।’

माता पिता दिवंगत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज छर्न नहुने समितिका अध्यक्ष गौतमले बताए । भगवान् शिव मृगरूप लिएर घुमेको भनिने क्षेत्रमा एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने र दिवगंत आत्माले पनि मुक्ति पाउने धार्मिक विश्वास छ । पशुपति क्षेत्र विकास कोषले तीन दिन अघि एक सूचना जारी गरी ढुंगा छापेका स्थानमा शतबीज नछर्न अनुरोध गरेको थियो ।

 

प्रकाशित मिति : २०८० मङ्सिर २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस