२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

छोरी जन्माएको ७ दिनमा लक्ष्मीले संसार छोडिन्, ‘न्वारान गरेको भोलिपल्टै मातृत्व मेटियो’

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा एक अकल्पनीय पीडादायी घटना भएको छ । छोरी जन्माएको मात्र ७ दिनमा आमा लक्ष्मी बस्नेत बुढाथोकीले यो संसार छोडिन् । त्योपनि भरपर्दो स्वास्थ्य संस्था र चिकित्सक टोलीको अभावमा उनले अकालमा ज्यान गुमाउनु पर्यो । अघिल्लो दिनमात्र छोरीको न्वारान गरियो । नाम राखेको २४ घण्टापनि नबित्दै एक अवोध शिशुले आमा गुमाइन् ।’

श्रीमान विदुर भए । आफन्तको खुशी एकाएक खोसियो । श्रीमान् चन्द्र बुढाथोकीले भ्यालेनटाईन डे (प्रेम दिवस) फेब्रअरी १४ मा लेखेका थिए ‘प्रणय दिवसको मेरी मायालुलाई एक भुगोल शुभकामना ।’ आजभन्दा ठिक ७ दिन अगाडि अर्थात फागुन ७ गते ‘आज ७ गतेका दिन पहिलो सन्तानको रुपमा लक्ष्मीको आगमन भएको छ। सर्वप्रथम दिक्तेल जिल्ला अस्पतालका सम्पूर्ण स्टाफहरुलाई हार्दिक धन्यवाद छ। मेरी श्रीमीलाई र छोरीलाई स्वास्थ्य लाभको कामना।‘ भनेर चन्द्रले फेसबुकमा लेखे ।’

हिजो १३ गते ‘आज छोरीको नामकरण सम्पन गर्दै’ भनेर तस्बिरसहित राखे । तर आज आमा लक्ष्मीको निधन भयो । चन्द्रले अन्तिम संस्कार सकेर आफूलाई थाम्नै नसकी लेख्न बाध्य भए, सात जन्मसँगै जिउने कसम खाई आजको दिनमा साथ छाडेउ। तिम्रो बियोग कसरी सहनु मैले। हरेक सुख दुःखमा साथ दिउँला भन्ने थियो, गर्न सकिनँ मैले माफ गरिदेऊ है , तिम्रो आत्माले शान्ति पाओस् । अब सम्झना मै जीवन बिताउला । हार्दिक श्रद्धाञ्जली श्रीमती। वैकुण्ठमा बास होस्।’

आफन्तहरुसँग बुझ्दा लक्ष्मीको डेलिभरीपछि आएको स्वास्थ्य समस्याका कारण निधन भएको छ । बच्चा जन्मिएपछि उनको स्वास्थ्यमा केही समस्या आयो । अस्पताललेपनि थप उपचारका लागि अरु अस्पताल लैजान भनेन, खासै जटिलता छैन भनेर उपचार निरन्तर दिइरह्यो । तर लक्ष्मीको अचानक मृत्यु भयो । केही खोटाङवासीले ‘सुत्केरी हुँदा आमाहरुको मृत्युवरण हुने खोटाङको दुर्भाग्य कहिले अन्त्य हुन्छ ?’ भनेर आक्रोश व्यक्त गरिरहेका छन् ।’

दक्ष्य जनशक्तिको टीम नहुनु र आवश्यक उपकरणहरुपनि नहुँदा सुत्केरी गराउँदा नै आमा र बच्चाको ज्यान अधिक जाने जिल्लामा खोटाङ पर्दछ । जिल्ला अस्पतालले यस्ता भवितव्य पर्छन् भनेर नै जोगिन सुत्केरी नै गराउन नसक्ने भन्दै जिल्ला बाहिर पठाइहाल्ने गरेका घटनाहरुपनि धेरै छ । जिल्ला अस्पतालको अवस्था अत्यन्तै दयानीय रहेको बेला–बेला अनुगमनमा पुग्ने निकायलेपनि उल्लेख गर्दैै आएको छ । तरपनि यसको सुधारका लागि राज्यका निकायहरुबाट खासै पहल हुन सकेन ।’

 

प्रकाशित मिति : २०८० फाल्गुन १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस