२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

एमबीबीएस पढ्न भारतीय तीन विद्यार्थी जुम्ला आइपुगे

सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा एमबीबीएस अध्ययन गर्न भारतका तीनजना विद्यार्थी नेपाल आइपुगेका छन्। यस प्रतिष्ठानले यसै वर्षदेखि चिकित्सा शास्त्रअन्तर्गत स्नातक (एमबीबीएस) पढ्नका लागि ५० विद्यार्थीको कोटा पाएको थियो। जसमध्ये छिमेकी राष्ट्र भारतका तीनजना विद्यार्थीलाई जुम्लाले स्वागत गरेको हो।

अध्ययनका लागि भारतबाट आएकामध्ये २ छात्रा र १ छात्र छन्। सक्षी गुप्ता, कार्तिके मिश्र र कस्तुरी सिंहले जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययन गर्न लागेका हुन्। दुवै छात्रा जम्मु काश्मिरकी हुन् भने छात्र अल्लाहपुर, उत्तर प्रदेशका हुन् । योसँगै प्रतिष्ठानले एमबीबीएसको अध्यापन थालेको पनि तीन वर्ष हुँदै छ र चौथो ब्याच पढ्न सुरु गर्दै छ।

पहिलो वर्ष २० जनाको कोटा पाएको प्रतिष्ठानले त्यसपछिका २ वर्षमा ३०–३० जना भर्ना लियो। यस वर्षबाट चिकित्सा शिक्षा आयोगले ५० जनाको कोटा दिएपछि जुम्लामा चहलपहल अझै थपिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मलेसियाको सनवे विश्वविद्यालयअन्तर्गतको सनवे मेडिकल सेन्टरसँग अनुभव आदानप्रदान गर्दै छ। यसका लागि समझदारी भइसकेको छ। जसअनुसार, ५ जना एमडी र नर्स आगामी केही महिनामा मलेसिया गएर तालिम गर्नेछन् भने त्यहाँबाट पनि केही कर्णालीमा आएर अभ्यास गर्नेछन्।

एमडी र नर्स गरी ५ जनाले त्यहाँ काम गर्न पाउने र त्यहाँका पनि कर्णालीमा आउनेछन्। अमेरिकाको ह्युस्टन मेडिकल स्कुलका प्राध्यापक पनि प्रतिष्ठानमा योगदान गर्नेछन्। यस्तै मेमोरियल युनिभर्सिटी अफ क्यानाडासँग अनुसन्धान र एमडीजीपी कार्यक्रमका लागि सहकार्य हुँदै छ। दुवै संस्थाबीच शिक्षक–प्राध्यापकसमेत आदानप्रदान हुने गरी प्रक्रिया अघि बढेको छ।

चीनको चोङ्सी प्रान्तस्थित ज्यु ज्याङ (च्याङ्सी विश्वविद्यालय) सँगको सहकार्यमा औषधीय जडीबुटीको अनुसन्धान केन्द्र स्थापनाका लागि पहल भइरहेको प्रतिष्ठानले जनाएको छ। अनुसन्धान, स्वास्थ्य सेवा र शिक्षा गरी तीनै पक्षबाट समानान्तर प्रयास अघि बढाइएका छन्।

 

प्रकाशित मिति : २०८० फाल्गुन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस