२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आयरल्यान्ड विरुद्ध नेपालकाे प्रभावशाली जित

Impressive victory of Nepal against Ireland

काठमाडौं । आयरल्यान्डसँगको पहिलो टी-२० मा नेपालले ६ विकेटको प्रभावशाली जित हासिल गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको खेलमा आयरल्यान्डले दिएको १२२ रनको लक्ष्य नेपालले चार विकेटको क्षतिमा १६.१ ओभरमा सहजै पूरा गरेको हो। नेपालका लागि कुशल भुर्तेलले ३७, सन्दीप जोराले ३६, दीपेन्द्रसिंह ऐरीले २० र आसिफ शेखले १६ रन बनाए।

आयरल्यान्डका लागि गेराथ डेलानीले दुई, बेन ह्वाइट र थोमस मायसले एक-एक विकेट लिए। यसअघि ब्याटिङ गरेको आयरल्यान्डले सबै विकेट गुमाएर १२१ रन बनाएको थियो। आयरल्यान्डका लागि स्टेफन डोहेनीले ४६ रन बनाए। उनले ३९ बलमा चार चौका र दुई छक्का प्रहार गरे।

त्यस्तै, लियाम म्याकर्थी र थोमस मायसले १६-१६ तथा फियोन ह्यान्डले ११ रन बनाए। आयरल्यान्डका अन्य खेलाडी टिकेनन्। उनीहरूले दोहोरो अंकमा रन जोड्न पनि सकेनन्। नेपालका लागि ललित राजव‌ंशी, गुल्सन झा र कुशल भुर्तेलले दुई-दुई, करण केसी र कुशल मल्लले एक-एक विकेट लिए।

आजको खेलमा कुशल भुर्तेल प्लेयर अफ द म्याच भए। उनले ३७ रन बनाउनुका साथै दुई विकेट पनि लिएका थिए। नेपाल र आयरल्यान्डबीच दोस्रो टी-२० खेल मंगलबार हुनेछ।

प्रकाशित मिति : २०८० चैत्र १२ गते सोमवार
प्रतिक्रिया दिनुहोस