२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ लाई आज जित्नै पर्ने दबाब

Nepal A VS Ireland

२३ चैत, काठमाडौं । नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । तीव्र गतिका बलर कमलसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिएपछि आयरल्यान्ड १५७ रनमा अल आउट भएको थियो । तर म्याथ्यु हम्फ्रेजले ५ र लियाम म्याकार्थीले ४ विकेट लिएपछि नेपाल १३६ रनमा अलआउट भएको थियो ।

नेपालको प्लेइङ ११ मा अर्जुन कुमाल बाहेक अन्य सबै सिनियर टोलीबाट खेलेका खेलाडी थिए । ओडीआईका प्रमुख दुई ब्याटर भीम सार्की र आरिफ शेख शून्य रनमा आउट भएका थिए । देव खनाल र अर्जुन साउद पनि टोलीमा छन् । सिनियर टोलीका यी चार खेलाडी मध्य दुईले आज ठूलो इनिङ खेल्नुपर्ने छ । नेपालको तीव्र गतिका बलरमा कमल र रिजन ढकाल हुनेछन् । स्पिनरमा सागर ढकाल, साहब आलम र मौसम ढकाल हुनेछन् । आयरल्यान्डका खेलाडीले पहिलो खेलमा स्पिनरको संघर्ष गरेका थिए । नेपालको टोलीमा परिवर्तनको सम्भावना आज कम छ ।
उता पिटर मुर, स्टेफन डोहेनी र निल रक प्रमुख ब्याटर हुन् । ग्यारेथ डेलानी र केड कार्माइकल पनि राम्रो ब्याटिङ गर्ने गर्दछन् । तल्लोक्रम ब्याटिङ भने कमजोरीको रुपमा छ । आयरल्यान्ड ‘ए’ र नेपालको सिनियर टोलीबीच दुई टी–२० खेल भएको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपाल ‘ए’सँग तीन टी–२० सिरिज आयरल्यान्डले २–१ ले जितेको थियो । तीन एकदिवसीय सिरिजको अन्तिम खेल आइतबार हुनेछ ।

नेपाल ‘ए’को टोली : विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शाहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल ।

आयरल्यान्ड ‘ए’ को टोली : निल रक (कप्तान), रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, टम मेयस, लियाम मकार्थी, जेम्स मक्कोलम, पिजे मुर, मोर्गन टपिङ, बेन व्हाइट ।

प्रकाशित मिति : २०८० चैत्र २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस