२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

म्युजिक भिडिओका मोडलहरू धमाधम फिल्ममा

काठमाडौं, वैशाख २० । म्युजिक भिडिओलाई खुड्किलो बनाएर फिल्मको यात्रा तय गरेका अभिनेत्रीहरू थुप्रै छन्। यतिबेला पनि म्युजिक भिडिओमा रूचाइएका केही मोडलहरूले फिल्मको यात्रा सुरू गर्दैछन्। मोडलिङ करिअर सुरू गरेको छोटो समयमै धेरैको नजरमा परेकी मोडल सनिशा भट्टराई छिट्टै फिल्ममा डेब्यु गर्दैछिन्।

चर्चित अभिनेता विराज भट्टको निर्माण एवं निर्देशनमा बन्न लागेको फिल्म ‘१२ गाउँ’ मा सनिशा अभिनेत्रीका रूपमा अनुबन्धित भइसकेकी छन्। उनी फिल्ममा जोडिएको कुरा मंगलबार मात्रै सार्वजनिक गरिएको छ। सनिशा डेढ वर्षअघि सार्वजनिक आफ्नो पहिलो गीत ‘ए होर माया’ बाटै चर्चामा आएकी थिइन्।

म्युजिक भिडिओमा जमेकी मोडल गरिमा शर्माको डेब्यु फिल्म ‘लण्डन टु पेरिस’ जेठ २५ गतेदेखि प्रदर्शनमा आउँदैछ। उनले अर्को फिल्म ‘ह्स्व दीर्घ’ मा समेत अभिनेत्रीका रूपमा अभिनय गरिसकेकी छन्। नीता ढुंगाना र हरिहर अधिकारीको यो फिल्म भने असोजमा प्रदर्शनमा आउनेछ।

मोडल कविता न्यौपानेले फिल्ममा डेब्यु गरिसकेकी छन्। उनको पहिलो फिल्म ‘गणपति’ गत वर्षको भदौमा प्रदर्शनमा आएको थियो। ‘सकम्बरी’ गीतबाट चर्चामा आएकी मोडल कुसुम शर्मा यतिबेला फिल्मकै छायांकनमा व्यस्त छिन्। उनले मिलन चाम्स निर्देशित फिल्म ‘वर एन्ड बधू’ मा अभिनय गरेकी हुन्।

कुसुमले यसअघि साइन गरेको ‘सञ्जिवनी’ फिल्मको काम भने अगाडि बढ्न सकेको छैन। निर्देशक दिनेश श्रेष्ठको निर्देशनमा बन्ने यो फिल्ममा अभिनेता आर्यन सिग्देल र कुसुम अनुबन्धित छन्। डान्सर एवं मोडल कविता नेपाली ‘एक्लो’ मार्फत फिल्ममा डेब्यु गर्दैछिन्। प्रदीप शाहीको निर्देशनमा बन्ने यो फिल्ममा अभिनेता प्रदीप खड्का, विजय लामा, बेनिशा हमाल लगायतका कलाकारहरू पनि अनुबन्धित भइसकेका छन्।

मोडल मिस पबि पनि ‘राजमहल’ बाट फिल्ममा डेब्यु गर्ने तयारीमा छिन्। रमेश उप्रेती, आँचल शर्मा, सलोन बस्नेत लगायतका कलाकारहरूको शीर्ष अभिनय रहने फिल्मको केही महिनाअघि निर्माण घोषणा गरिएको थियो।

 

प्रकाशित मिति : २०८१ बैशाख २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस