२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सन्दीपलाई भिसा नदिएको विषय सदनमा प्रवेश, ज्ञानेन्द्र शाहीले भने- सिंगो नेपालमाथिको अपमान हो

काठमाडौं। सांसद ज्ञानेन्द्र शाहीले सन्दीप लामिछानेलाई विश्वकप खेल्न अमेरिकाले भिसा नदिएकोमा संसद मौन देखिएको भन्दै आपत्ति जनाएका छन्। उनले अमेरिकाले सन्दीप र नेपालीको मात्र नभएर सिंगो देशको अपमान गरेको उल्लेख गरेका छन्।

‘विश्वले रुचाएको र विश्वका ठूल्ठूला खेलाडीलाई पछारेको सन्दीप लामिछानेको भिसा लाग्दैन । यसबारे सम्पूर्ण संसद् मौन देख्छु । संसारमा नेपाललाई कसैले चिनाउँछ भने कि त खेलाडीले हो की त कलाकारले, हो नेताले होइन । सन्दीपले भिसा नपाउनु भनेको उनी र सम्पूर्ण नेपालीको मात्र अपमान होइन यो त सिङ्गो देशमाथि भएको अपमान हो’, शून्य समयमा बोल्दै उनले भने ।

उनले पञ्चशीलको सिद्धान्तविपरीत अमेरिकाले आन्तरिक मामलामा चासो दिएको पनि उल्लेख गरे। उच्च अदालतले सन्दीपलाई निर्दोष ठहर गरेको अवस्थामा अमेरिकाले सन्दीपलाई भिसा अस्वीकृत गर्नु पञ्चशीलको सिद्धान्तविपरीत हुने बताए। ‘जुन देशले विश्वकप आयोजना गर्छ त्यही देशले हाम्रो खेलाडीलाई अगाडि जान दिँदैन। आज हामीले के का आधारमा परराष्ट्र नीति बनाएका छौँ। परराष्ट्र नीति पञ्चशीलका आधारमा बनाएको हो की पार्टीको कार्यकर्ताको मेनोफेस्टोको आधारमा’, उनले भने ।

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ २० गते आइतवार
प्रतिक्रिया दिनुहोस