काठमाडौं । टी–२० विश्वकपको ११ औं खेलमा अमेरिकासँग पहिलो पटक खेलेको पाकिस्तानले १६० रनको लक्ष्य प्रस्तुत गरेको छ । समूह ए मा रहेको पाकिस्तान यो खेलबाट आफ्नो विश्वकप अभियान सुरु गर्न लाग्दा अमेरिकाको भने यो दोस्रो स्पर्धाका रुपमा रहेको छ । पहिले ब्याटिङ गरेको पाकिस्तानले आयोजक अमेरिकाका लागि निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १५९ रन जोड्यो ।
आफ्नो पहिलो खेलमा क्यानडालाई ७ विकेटले हराएको अमेरिका आफ्नो उच्च लयलाई कायम राख्दै पाकिस्तानमाथि पनि सनसनिपूर्ण जितको प्रतीक्षामा छ। पाकिस्तानले पछिल्लो २ विश्वकपमा निकै उत्कृष्ट प्रदर्शन गरेको थियो। २०२१ को विश्वकपमा सेमिफाइनल पुगेको पाकिस्तानले २०२२ को टी–२० विश्वकपको फाइनल समेत खेलेको थियो। फाइनलमा इंग्ल्यान्डसँग पराजित भएको पाकिस्तान अहिले भने आफ्नो उत्कृष्ट लय समाउन सकिरहेको छैन।
अमेरिका र पाकिस्तानबिचको खेल ग्रेन्ड प्रेरी क्रिकेट मैदान डालासमा ८ः१५ मा जारी छ । यि दुई टिमबिच पहिलो पटक टी–२० अन्तर्राष्ट्रियमा प्रतिस्पर्धा हुन लागेको हो। यसअघि यहि मैदानमा अमेरिकाले क्यानडासँग खेलेको थियो। अमेरिका र क्यानडाबीचको यो खेल जारी प्रतियोगिताकै उच्च स्कोर भएको खेलका रुपमा रहेको थियो।
जहाँ दुई टिमले ३ सय ९१ रन बनाएका थिए। पहिले ब्याटिङ गर्दै क्यानडाले दिएको १ सय ९५ रनको उच्च लक्ष्य अमेरिकाले १४ बल बाँकी हुँदै ३ विकेट गुमाएर पुरा गरेको थियो। त्यसैले अमेरिका अहिले सम्म भएसका स्पर्धामा सर्वाधिक उच्च लयमा देखिएको छ।

