२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

अमेरिकामै रोकिएको नेपाली क्रिकेट टोली आज वेस्टइन्डिज जाने प्रयासमा

काठमाडौं । आइसिसी टी–२० विश्वकप अन्तर्गत समूहचरणका बाँकी दुई खेलका लागि वेस्टइन्डिज जाने तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली वर्षा र खराब मौसमका कारण निर्धारित समयमा जान असफल भएको छ। अर्थात नेपाली समय अनुसार बिहीबार विहान सेन्ट भिन्सेन्ट जाने तयारीमा भएपनि उडान नहुँदा टोली रोकियो। यदि मौसमले साथ दिएमा आज राति अर्थात स्थानिय समय अनुसार बिहीबार बिहान नेपाली टोली त्यसतर्फ प्रस्थान गर्ने तयारीमा रहेको छ।

नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलंकासँगको खेलका लागि अमेरिकाको‌ फ्लोरिडामा रहेको थियो। उक्त खेल पनि वर्षाले प्रभावित बनाउँदा दुबै टिमले १–१ अङ्क बाँडेका थिए। स्थानिय समय अनुसार फ्लोरिडाबाट नेपाली‌ टोली बुधबार साँझ (बिहीबार बिहान) सेन्ट भिन्सेन्ट जाने तालिकामा रहेको थियो। चार्टर उडान मार्फत त्यसतर्फ जान लागेको टोलीले साँझ ७ बजे सम्म कुरेपनि फ्लाइड नभएपछि टोली बिहीबार त्यसतर्फ जाने कार्यतालिका रहेको छ।

सेन्ट भिन्सेन्टमा नेपाल र दक्षिण अफ्रिका बीच जुन १५ र नेपाल र बंगलादेशबीच जुन १७ मा खेल हुने तालिका छ। आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले‌ पराजित भएको थियो। समूहबाट ६ अंकसहित दक्षिण अफ्रिका सुपर एटमा पुगिसकेको छ। नेदरल्याण्ड्स र बंगलादेशको समान २ अंक तथा नेपाल र श्रीलंकाको‌ समान १ अंक‌ छ।

फ्लोरिडाबाट समर्थकहरु समेत सेन्ट भिसेन्ट जाने टिकट काटेर बसेका छन्। कतिपय समर्थकहरु समेत फ्लाइट प्रभावित हुँदा रोकिएका छन्। फ्लोरिडामा बुधबार दिनभर पानी परेर बाढी समेत आएको थियो। बारम्बार मुसलधारे वर्षा हुँदा सडकहरू पानीले भरिएका छन्। अमेरिकाको राष्ट्रिय मौसम सेवाले ब्रोवार्ड, मायामी–डेड, कोलियर र हेन्ड्री काउन्टीका केही भागहरूमा बिहीबार बिहानसम्म बाढीको चेतावनी दिएको छ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस