२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

‘घरज्वाइँ’ को बक्सअफिसमा उत्कृष्ट सुरुवात

काठमाडौं । असार २८ देखि प्रदर्शन भइरहेको फिल्म ‘घरज्वाइँ’ले बक्सअफिसमा उत्कृष्ट सुरुवात गरेको छ। पहिलो दिनको बिहानी सोमा वर्षाले असर गरे पनि दिउँसोदेखि पिकअप लिएको फिल्मले शनिबार (दोस्रो दिन)बिहानै देखि ८० प्रतिशत सो हाउसफूल भएको वितरक रोहित कट्टेलले बताए।

‘शनिबारको बिहानी शोमा ८० प्रतिशत माथिको अकुपेन्सी देखिएको थियो। भने दिउँसो १२ बजेपछिका शोमा शतप्रतिशत अकुपेन्सी बढ्यो।’ कट्टेलले भने। शुक्रबार दर्शकबाट मिलेको उत्कृष्ट वर्डअफ माउथका कारण धेरै हलले शनिबारका लागि सो पनि थपेका थिए। बिहानैबाट काठमाडौँ उपत्यका र मोफसलका पोखरा, नारायणघाट, विराटनगर, इटहरी, धरान, विर्तामोड, बुटवल, दाङ, नेपालगञ्जलगायतका हल दर्शकले भरिएकाे निर्माता जनक घर्ति मगरले बताए।

दर्शकको राम्रो साथ मिलेपछि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरले दर्शकलाई धन्यवाद दिएका छन्। आगामी दिनमा पनि यस्तै साथ र सहयोगको अपेक्षा रहेको भन्दै दर्शकको यस्तै साथ आवश्यक रहेको बताएका छन्।

त्यस्तै डेब्यु निर्देशक अनिल बुढा मगरले आफ्नो पहिलो पाइलामा नै दर्शकले यति धेरै साथ दिएकोमा खुसी हुँदै आगामी दिनमा अझ उत्कृष्ट फिल्म निर्माण गर्नुपर्ने चुनौति थपिएको बताए। जिएम मूभिज र एबीएम फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म सुसन प्रजापतिको छायांकन र कृष्ण भण्डारीले सम्पादन गरेका हुन्।

निर्देशक अनिलकै कथा रहेको फिल्मको पटकथा तथा संवाद लेखनमा भने अनिलसहित विनोद खतिवडा र सुभाष कोइरालाको संयुक्त लेखन छ। जनक घर्ती मगरले निर्माण गरेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापामगर, सोनाम लामा, बिबेश बुढामगर, सुनिल मगरलगायतको अभिनय छ।

 

प्रकाशित मिति : २०८१ असार ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस