२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

पाकिस्तानको टेस्ट टोलीमा महत्वपूर्ण परिवर्तन, बाबरसहित ४ खेलाडी बाहिरिए

२७ असोज, काठमाडौं । इंग्ल्याण्डविरुद्ध जारी टेस्ट सिरिजको पहिलो खेलमा लज्जास्पद हारपछि पाकिस्तानले टेस्ट टोलीमा केही महत्वपूर्ण परिवर्तन गरेको छ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले दोस्रो र तेस्रो टेष्टका लागि बाबर आजम, शाहीन शाह अफ्रिदी, नसिम शाह र सरफराज अहमदलाई टोलीबाट हटाएको हो ।

अब्रार अहमदलाई डेंगु संक्रमण भएको बोर्डले जनाएको छ । यी खेलाडीको ठाउँमा हासिबुल्लाह, मेहरान मुमताज, कमरान घुलामले पहिलो पटक टेस्ट टिममा स्थान बनाएका छन् । त्यस्तै, मोहमद अली र अफ स्पिनर सजिद खानलाई पनि टिममा सामेल गरिएको छ ।

पाकिस्तान र इंग्ल्याण्डबीच मुल्तानमा भएको पहिलो टेस्ट म्याचको पहिलो इनिङ्समा पाकिस्तानले ५५६ रन बनाएर पनि पराजित भएको थियो । बाबर आजमले यो खेलमा आफ्नो टिमको लागि खासै योगदान गर्न सकेनन् । उनले पहिलो इनिङ्समा ३० रन र दोस्रो इनिङ्समा पाँच रन मात्र बनाएका थिए ।

दोस्रो र तेस्रो टेस्ट खेलका लागि पाकिस्तानको टेस्ट टोलीः

शान मसूद (कप्तान), साउद शकील (उपकप्तान), आमिर जमाल, अब्दुल्ला शफिक, हसिबुल्लाह (विकेटकिपर), कामरान गुलाम, मेहरान मुमताज, मिर हमजा, मोहम्मद अली, मोहम्मद हुरैरा, मोहम्मद रिजवान (विकेटकिपर), नोमान अली, सैम अयुब, साजिद खान, सलमान अली आगा र जाहिद महमूद ।

प्रकाशित मिति : २०८१ असोज २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस