२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोली सम्मानित

काठमाडौं । विश्वकपमा छनोट भएको १९ वर्ष मुनिको महिला क्रिकेट टोलीका तीनजनालाई स्याङ्जामा नगदसहित सम्मान गरिएको छ।

विश्वकप खेल्ने तयारीमा रहेका उनीहरूको हौसला बढाउने उद्देश्यले नेपाली कांग्रेसले सम्मान गरेको हो।

विश्वकप खेल्ने इतिहास रचेको भन्दै क्रिकेटरसहित उनीहरूका संस्थालाई नेपाली कांग्रेस स्याङ्जाले सम्मान एवं पुरस्कृत गरेको छ। पुतलीबजार नगरपालिका- १ स्थित पार्टी मुख्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं संघीय सांसद राजु थापाले तीन खेलाडीसहित जिल्ला क्रिकेट संघ स्याङ्जालाई नगद र सम्मान पत्रले सम्मान गरेका हुन्।

खेलाडीहरूलाई जनही १५/१५ हजारसहित सम्मान पत्र र जिल्ला क्रिकेट संघ स्याङ्जालाई १० हजार रुपैयाँसहित सम्मान पत्रले सम्मान गरिएको छ।  पुतलीबजार १ का ज्योत्सनिका मरासिनी र वडा १३ का सिमाना केसी र कुसुम गोदारका साथै जिल्ला क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापा सम्मानित भएका हुन् ।

युएईमा भएको विश्वकप एसिया छनोटमा नेपाली टोलीले घरेलु टोलीलाई पराजित गर्दै उपाधि जितेर आईसीसी महिला यु–१९ टी – २० विश्वकप क्रिकेट प्रतियोगितामा स्थान बनाएको हो। आउदो जनवरी १८ देखि २ फेबु्रअरिसम्म मलेसियामा विश्वकप प्रतियोगिता हुँदैछ ।

प्रतियोगिताका लागि उनीहरु अब बन्द प्रशिक्षणका लागि खेलाडीहरू एक/दुई दिनमै त्यसतर्फ जाने भएको अध्यक्ष थापाले जानकारी दिए।

प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस