२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

बालाचतुर्दशीमा पशुपति क्षेत्रको कैलाशमा पसल नराखिने

१३ मंसिर, काठमाडौँ । बाला चतुर्दशी पर्वका अवसरमा यस वर्ष पशुपति क्षेत्र विकास कोषले कैलाश क्षेत्रमा पसल राख्न नदिने भएको छ ।
विगत वर्षमा कैलाशलगायत स्थानमा पसल राख्न दिँदा दिवंगत पितृका नाममा मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति बत्ती बाली चतुर्दशीका दिन बिहान सत्बीज छर्न आउने भक्तजनलाई असहज भएपछि यस वर्ष पसल राख्न निषेध गरिएको कोषले जनाएको छ ।

भुवनेश्वरीबाट वनकाली तर्फको भागमा मात्र पसल राख्न दिइने कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए। तोकिएका स्थानबाहेक अन्यत्र पसल राख्नेलाई कानुनी कारबाही गर्ने निर्णय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको अध्यक्षतामा बसेको व्यवस्थापन बैठकले गरिसकेको उनले जानकारी दिए ।

बाला चतुर्दशी पर्वका लागि नेपाली सेनाले पाँच वटा ठूला पाल उपलब्ध गराएको छ । बाला चतुर्दशी पर्वका अवसरमा पशुपति क्षेत्रमा मासु, मदिरालगायत पदार्थको बिक्री वितरणमा रोक लगाइएको छ । दिवंगत पितृका नाममा बत्ती बाल्न आउनेका लागि शुक्रबार दिउँसो दुई बजेदेखि कैलाश डाँडामा प्रवेश गराइने छ । नाम दर्ता गरेर बत्ती बाल्नेका लागि कोषले रु दुई हजार १०० का दरले शुल्क लिएको छ । शुक्रबार पशुपति क्षेत्रमा आउने भक्तजनलाई आआफ्ना बाल बच्चालाई नलिई आउन पनि कोषले आह्वान गरेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस