२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

एनपीएलमा जनकपुरको लगातार दोस्रो जित, कर्णाली ८ विकेटले पराजीत

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा जनकपुर वोल्ट्सले कर्णाली याक्सलाई ८ विकेटले हराएको छ।

कर्णालीले दिएको  एक सय ४२ रनको लक्ष्य जनकपुरले २ विकेट गुमाएर भेट्टाएको हो।  लक्ष्य भेट्टाउने क्रममा कप्तान अनिल साहले अविजित ६२ रन बनाए।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ४१ रन बनायो। कर्णाली याक्सका लागि गुल्सनकुमार झाले २७ बल खेल्दै तीन छक्का र एक चौकाको सहयोगमा सर्वाधिक ३६ रन जोडे।

त्यस्तै अर्जुन घर्तीले २२ बलमा दुई चौका र दुई छक्का हान्दै ३३ रन बनाए। यस्तै कप्तान सोमपाल कामीले अविजित २९ रनको योगदान दिए। उनले १३ बल खेल्ने क्रममा एक छक्का र तीन चौका प्रहार गरे। भारतीय खेलाडी शिखर धवनले १४ बल खेल्दै तीन चौकाको मद्दतमा १४ रन बनाए। यस्तै हङकङका बाबर हायातले १२ रन बनाए।

बलिङतर्फ जनकपुर वोल्ट्सका लागि पाकिस्तानी खेलाडी मोहम्मद मोहसिन खानले दुई, जिमी निशम, हर्ष ठाकेर, ललितनारायण राजवंशी र किहोर महतोले एक एक विकेट लिए।

यसअगाडि जनकपुरले विराटनगर किङ्सलाई आठ विकेटले हराएको थियो।

उद्घाटन खेलमा जितका लागि १२८ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.३ ओभरमा दुई विकेटको क्षतिमा १३१ रन जोड्दै लक्ष्य पूरा गरेको थियो।

प्रकाशित मिति : २०८१ मङ्सिर १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस