काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचको खेल सुपर ओभरमा गएको छ।
विराटनगरका लागि अन्तिम ओभरमा १३ रन जोगाउने जिम्मेवारी वसिर अहमदले पाएका थिए । तर उनले पहिलो बल डट खाँदा दोस्रो बलमा १ रन तेस्रो बलमा छक्का र अन्तिम बलमा छक्का खाँदा खेल सुपर ओभरमा गएको हो।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुवै टोलीले २० ओभरमा १३९-१३९ रन जोडेपछि खेल सुपर ओभरमा गएको हो।
विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याउने क्रममा पोखराका लागि ओपनर आन्द्रेस गौसले ३९ रन जोडे। उनले २७ बलमा ७ चौका प्रहार गरेका थिए। अर्का ओपनर दिनेश खरेल भने ११ रनमा आउट भए।
४७ रनको ओपनिङ साझेदारी गरेपछि खरेल आउट भएका थिए। खरेल र गौस दुवैलाई विराटनगरका देब्रे हाते प्रतिश जिसीले आउट गरे। जिसीले पोखराका जेन मलिङकलाई पनि ४ रनमा बोल्ड गरेका थिए।
पोखराका कप्तान कुशल भुर्तेल ३१ रन जोडेर आउट भए। उनलाई विराटनगरका क्रिस सोलले आउट गरे लगत्तैको बलमा त्रितराज दास एलबिडब्लूको धरापमा परेका थिए।

