काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा पुग्ने पहिलो टोली जनकपुर बोल्ट्स बनेको छ।
बिहीबार दिउँसो भएको खेलमा काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै जनकपुरले प्लेअफमा आफूलाई सुरक्षित गरेको हो।
६ खेलबाट जनकपुरको १० अंक भएको छ। लिगको आफ्नो अन्तिम खेलमा जनकपुरले चितवन राइनोजसँग शनिबार खेल्नेछ ।
काठमाडौंले दिएको १०२ रनको मध्यम लक्ष्य जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । उसको जितमा जेम्स निशामले २७ र हर्स ठाकरले रनको योगदान गरे ।
क्याप्टेन करण केसीले २ तथा शहाब आलम, गेरार्ड रास्मस र दिपेश कँडेलले समान एक विकेट लिएपनि काठमाडौंको हार भने टार्न सकेनन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा १०१ रनमा अलआउट भएको थियो । सुरुबाटै कमजोर ब्याटिङ गरेको काठमाडौंका लागि गेरार्ड इरास्मसले २०, क्याप्टेन करण केसीले १९ र स्टेफन इस्किन्जीले १७ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।
ललित राजवंशी र शेर मल्लले समान ३, मोहमद मोसिनले २ तथा किशोर महतो र अरनिको यादवले समान एक विकेट लिए ।

