२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

एनपिएल: विराटनगर किंग्सको शानदार जित, चितवन ५१ रनले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले दोस्रो जित हात पारेको छ।

टियु क्रिकेट मैदानमा विराटनगरले चितवनलाई ५१ रनले हराएको हो। विराटनगरले यसअघि लुम्बिनीलाई हराएको थियो।

विराटनगरले १८२ रनको विजय लक्ष्य प्रस्तुत गरे पनि चितवनले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा १३० रनमात्र बनाउनसक्यो।

चितवनका लागि अमर रौटेलाले सर्वाधिक ४२ रन बनाए। त्यस्तै कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन र सन्तोष कार्कीले २८ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

विराटनगरका लागि सन्दीप लामिछानेले २ र क्रिस सोल, बसिर अहमद, सुवास भण्डारी र लोकेस बमले एक-एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरको खेलमा ५ विकेटको क्षतिमा १८१ रन बनाएको थियो।

विराटनगरका लागि बसिर अहमदले अर्धशतकीय पारी खेले। ४४ बलमा उनले ४ चौका र ४ छक्कासहित ६८ रन अविजित रहे। त्यस्तै राजेश पुलामी मगर ३३ रनमा अविजित रहे। २० बलमा उनले १ चौका र ३ छक्का प्रहार गरे।

त्यस्तै मार्टिन गुप्टिलले ४५ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। चितवनका लागि रिजन ढकालले २ विकेट र सोहिल तनवीर, बसिल हमिद र कुशल मल्लले १ विकेट लिए।

जितसँगै प्लेअफ पुग्ने झिनो सम्भावनालाई विराटनगरले जीवित नै राखेको छ भने चितवनलाई भने धक्का लागेको छ। दुवै टोलीले १-१ खेल्न बाँकी छ।

प्रकाशित मिति : २०८१ मङ्सिर २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस