२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आज सोमबार भगवान शिवको पूजा आराधना गर्नाले परिवारमा सुख मिल्नेछ

Worship Lord Shiva on Monday

२८ माघ , काठमाण्डौँ ।  आज सोमबारका दिन भगवान शिवजीको पुजा आराधना गर्नु उत्तम मानिन्छ । यस दिनमा शिवजीको पुजा–आराधना गरे शिवजी चाँडै नै खुसी हुन्छन् भन्ने धार्मिक विश्वास छ । यस दिनमा शिव मन्दिर गई विशेषतः ‘अर्धनारीश्वर पुजा’ गर्ने अनि ‘ऊँ नमः शिवाय’ मन्त्र जप्नुपर्दछ । अझै सोमबारको दिन शिवजीको पुजा गर्नेबेला शिवपुराण पढ्दा शिवजी प्रसन्न भई मागेको वर दिने विश्वास गरिन्छ ।

कुमारी स्त्रीले राम्रो वर पाउनका लागि शिवजीको पुजा गर्ने गर्दछन् भने विवाहित स्त्रीले आफ्नो परिवारमा सुखशान्ती र पतिको लामो आयुको लागि शिवजीको पुजा गर्दछन् । यस दिन व्रत बस्दा एक–छाक मात्रा खानुपर्दछ भने खानामा नुन–तेल मिसाउन मनाही छ ।

शिव हिन्दू धर्मको प्रमुख देवताहरू मध्यको एक ईश्वर को रुप हो। वेदमा यिनको नाम रुद्र भनिएको छ। यीनी व्यक्तिको चेतनाको अन्तर्यामी छन्। यिनको अर्धाङ्गिनीको नाम पार्वती हो। यिनका दुईवटा पुत्रहरू छन्, जसमा एक स्कन्द र अर्का गणेश हुन्। हिन्दू मान्यता अनुसार ब्रह्माजी यो संसारका सृष्टिकर्ता हुन् भने भगवान विष्णु यो संसारको पालनकर्ता र शिव यो संसारका संहारकर्ता हुन्। शिवलाई जिव अथवा प्राण भनेर पनि चिनिन्छ। शिवले छोडेमा यो संसारमा देह अथवा शव मात्र रहन्छ।

देहमा ब्रह्माको स्थान शिरमा छ, विष्णुको स्थान हृदय अथवा शरिरको मध्य भागमा छ र शिवको स्थान कमर भन्दा तलको भागमा छ। त्यसैले भगवान शिवलाई शिवलिंगको रूपमा पूजा गरिन्छ। शिव अधिकतर चित्रहरूमा योगीको रूपमा देखिन्छन् र उनको पूजा लिंगको रूपमा गरिन्छ। भगवान शिवलाई संहारको देवता भनिन्छ।

भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुवैको लागि विख्यात छन्। अन्य देवहरू भन्दा शिवलाई भिन्न मानिएको छ। सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति शिव हुन्। त्रिदेवहरूमा भगवान शिव संहारको देवता मानिन्छन्। शिव अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुन् र यीनी काल महाकाल नै ज्योतिष शास्त्रका आधार हुन्।

शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ, तर उनले सधै लय एवं प्रलय दुवैलाई आफ्नो अधीन गरेका छन्। भगवान शिव देवताका पनि देवता भएकाले उनलाई महादेव भनिन्छ भने ईश्वरका पनि ईश्वर भएकोले उनलाई महेश्वर भनेर चिनिन्छ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार
प्रतिक्रिया दिनुहोस