२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

८५ प्रतिशत जनसंख्या हिन्दु रहेको इन्डोनेशियाको बालीमा मन्दिर संस्कृति र गालुङ्गान पर्व

hindu temple in indonesia

बाली । इन्डोनेशियाको बाली टापुमा गालुङ्गान पर्वको ठूलो उत्सव हुन्छ । यो पर्व बालीनेस हिन्दुहरूको सबैभन्दा महत्त्वपूर्ण र ठूलो चाड हो । जसमा सृष्टिकर्ता र पूर्वजहरूको आत्मालाई सम्मान गरिन्छ। यसले धर्म (भलाइ) को अधर्म (खराबी) माथिको विजयलाई प्रतीक गर्दछ। घरघरमा पेन्जोर (सजिएको खजुरको बोट), फलफूलको भोग र परम्परागत सफेद पोशाकमा सजिएका स्थानीय मानिसहरूले यस पर्वलाई विशेष बनाएका छन्।

बालीमा ५० हजारभन्दा बढी मन्दिरहरू छन्। प्रत्येक घर–परिवार र गाउँमा मन्दिर हुन्छ। हरेकका खेतमा थाम हुन्छ । बालीनेस हिन्दुहरूले दैनिक तीनवटा मन्दिरमा पूजा गर्छन्। यसका साथै ठूला मन्दिरहरूमा विशेष अवसरमा जाने गर्दछन् । हरेक बिहान घरको मन्दिरमा पूजा गरेर खेतको थाममा पाती चढाउँछन् ।

बालीका मन्दिरहरू नेपाल, भारतीय हिन्दु मन्दिरभन्दा फरक छन्। तिनीहरू खुला परिसरमा छन् । धेरै ढोकाहरू पार गरेपछि मात्र गर्भगृहमा पुगिन्छ। केही प्रसिद्ध मन्दिरहरू जस्तै पुरा तिर्ता एम्पुल (पवित्र पानीको मन्दिर), तमन आयुन (राजपरिवार मन्दिर) र तानाह लोट (समुद्रकिनारको मन्दिर) पर्यटकहरूका लागि आकर्षणको केन्द्र हुन्।

बालीको ८५ प्रतिशत जनसंख्या हिन्दु धर्ममा आस्था राख्छ । जुन पाँचौं शताब्दीमा भारतबाट आएको मानिन्छ। बालीनेस हिन्दु धर्मले पुनर्जन्म, कर्म र मोक्षमा विश्वास गर्दछ । जन्म, विवाह र मृत्यु जस्ता संस्कारहरूलाई महत्त्व दिन्छ। यसका साथै बालीमा परम्परागत नृत्य, संगीत र कलाहरू हिन्दु पौराणिक कथाहरूबाट प्रेरित छन्।

गालुङ्गान पर्वको अवसरमा बारोंग (पौराणिक जीव) को नृत्य सडकहरूमा प्रदर्शन गरिन्छ । जसले भलाइ र खराबीको सन्तुलन कायम गर्ने मान्यता छ। पर्वको अन्तिम दिन कुनीङ्गानमा परिवारजनहरू एकठाउँ हुन्छन् र परम्परागत बालीनेस खाना जस्तै लावार र साते खान्छन्।

बाली आफ्नो प्राकृतिक सुन्दरता, समुद्र तट र हिन्दु संस्कृतिका लागि प्रसिद्ध छ। यसको कला, नृत्य र चाडपर्वहरूले पर्यटकहरूलाई मन्त्रमुग्ध पार्छन्।

बालीका प्रमुख मन्दिरहरू
पुरा बेसाकिह (मातृ मन्दिर)
पुरा तानाह लोट (सबैभन्दा धेरै फोटो खिचिएको मन्दिर)
पुरा तिर्ता एम्पुल (पवित्र स्नान)
तमन आयुन मन्दिर (सुन्दर बगैंचा)

 

प्रकाशित मिति : २०८१ फाल्गुन ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस