काठमाडौं । रुपन्देहीको तिलोत्तमामा रहेको एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला फ्लडलाईट समेत तयार भएको छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा त्रिविको सरकारी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा फ्लडलाईट जोड्ने पहिलो निर्णय गरेका तिए । त्यतिबेला अस्ट्रेलियामा आइटी व्यवसाय सञ्चालन गर्दै आएका विनोद कुँवर उनकी पत्नी सुदिक्षाले नीजि लगानीमा रंगशाला बनाउँदै थिए । रंगशाला निर्माण पूरा गरेपनि फ्लडलाईट जोड्ने काम पूरा भएको छ । तर सरकारी रंगशालामा अझै काम सुरु भएको छैन ।
कुँवर दम्पतीले पाँच विगाह क्षेत्रफलमा ४५ करोड बढी खर्चिएर अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गरेका छन्। कुँवर दम्पतीले जग्गा बाहेक रंगशालाको पूर्वाधार निर्माणमा मात्र ४५ करोड बढी लगानी गरेका हुन् । २०८० साल जेठ २९ गते शिलान्यास गरी निर्माण सुरू गरिएको रंगशालामा २०८० फागुनमै क्रिकेट खेल्न मिल्ने गरी मैदान निर्माण गरिएको थियो। सोही अनुसार गत फागुन २८ गते मैदानको उद्घाटनसहित लिजेण्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरी सम्पन्न भएको थियो।
सोही रंगशालामा अहिले अन्य भौतिक संरचना निर्माणका काम भइरहेका छन् भने रातिको समयमा खेल खेल्न मिल्ने गरी फ्लडलाइट जडान भएको छ। एक्स्ट्राटेक ओभलका प्रबन्ध निर्देशक विनोद कुँवरले रंगशालामा फ्लडलाइट सकेर परीक्षण गरिसकिएको जानकारी दिए ।
‘एक महिनाभित्र लाइट जडान र परीक्षण गरिसकिएको छ । तर सरकारी काम अझै अलमलमा छ । फ्लडलाइट जडान भएको एक्स्ट्राटेक ओभल नेपालकै पहिलो क्रिकेट मैदान भएको छ । सरकारले त्रिवि क्रिकेट मैदानको स्तरोन्नतिको लागि ठेक्का प्रक्रिया अगाडि बढाएको भए पनि फ्लडलाइट जडान हुन सकेको छैन। फ्लडलाइट जडान भएपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई अभ्यासका लागि अब रातमा झनै सहज हुने उनले बताए।
फ्लडलाइट नेपाली क्रिकेटका लागि निकै महत्वपूर्ण हुने र अब डे नाइट म्याच खेलाउन सकिने उनले बताए। नेपालीहरु लाइटमा अभ्यास्त नहुँदापनि परिणाम राम्रो आउन सकेको थिएन । अब नेपाली खेलाडी अरु भन्दा राम्रा हुनेछन् उनले भने । कुँवरका अनुसार निर्माणाधीन यो मैदानमा पछिल्लो ११ महिनाको अवधिमा एक सयभन्दा बढी खेल भइसकेका छन्।
नेपालको १९ वर्ष मुनिको विश्वकप खेलेको महिला टोली र नेपाल प्रिमियर लिग टिम लुम्बिनी लायन्सले पनि यही मैदानमा अभ्यास गरेको कुँवरले जानकारी दिए। त्यस्तै, भारतबाट पनि केही क्लब स्तरीय टिमले यही रंगशालामा खेल्दै आएका छन्। अब भारत लगायत विश्वभरका देशहरुबाटपनि अभ्यास खेल्न आउने उनको विश्वास छ । कुँवरका अनुसार रंगशालामा नेट प्राक्टिसका लागि समेत छुट्टै पिच तयार भएको छ ।
‘अहिले भिआइपी बक्स, प्लेयर बक्स, चेञ्जिङ रूम र मिडिया बक्ससहितका चार–चार तलाका २ वटा भवन बनिरहेका छन्। तत्काल कुनै प्रतियोगिता आयोजना भएको खण्डमा भिआइपी बक्सबाट बसेरै खेल हेर्न सकिने अवस्थामा संरचना निर्माण भइसकेको छ,’ कुँवरले भने।
रंगशाला निर्माण सुरू गर्दा भौतिक संरचनामा मात्र ४५ करोड बढी लगानी हुने अनुमान गरिएकोमा हालसम्म आधा बढी रकम खर्च भइसकेको र बाँकी रहेको रकम केही अपुग हुने देखिएको उनले बताए। ‘रंगशाला सुरू गर्दा जति लागत अनुमान गरेका थियौं काम गर्दै जाँदा त्यो रकम अपुग हुने देखिएको छ। अपुग भएको रकम पनि थप गरेर सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण भएको’ उनले भने।
कुँवरका अनुसार ५ हजार क्षमताको प्यारापिट निर्माणको काम पनि अगाडि बढिसकेको छ । कुल २५ हजार क्षमताको प्यारापिट बन्ने रंगशालामा अर्को वर्षसम्म १० हजार क्षमताको बन्नेछ। हरेक वर्ष ५ हजार क्षमताको प्यारापिट थप गर्दै ५ वर्षमा २५ हजार दर्शक अटाउने प्यारापिट निर्माण गरिने कुँवरले बताए। अब नेपालीहरुपनि छातामुनी सुविधासम्पन्न बेन्चमा बसेर क्रिकेट हेर्ने उनको भनाई छ । उनले आफ्नो उद्देश्य रंगशाला बनाउने मात्र नभई एकेडेमी सञ्चालन गरेर डिप्लोमा इन क्रिकेट कोर्ष पढाएर अन्तर्राष्ट्रियस्तरमा खेल्ने नेपाली खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको बताए।
‘यहाँ नियमित खेल सञ्चालन हुनुको साथै एकैपटक एक सय ५० जनालाई एकेडेमीमा राखेर प्रशिक्षण दिइने छ,’ उनले भने। कुँवरले यूएईमा लामो समय बसेर अवुधावीको शेख जायेद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा क्युरेटरको जिम्मेवारी लिएका माधव पाठक एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको क्युरेटरको भूमिकामा रहेको बताए।


