२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

चारदेशीय टी-२० सिरिज: नेपाललाई ३ रनले हराउँदै कुवेत च्याम्पियन

३१ चैत्र, काठमाण्डौँ ।  हङकङमा जारी चार देशीय टी-२० सिरिजको उपाधि कुवेतले जितेको छ। नेपालमाथि ३ रनको रोमाञ्चक जित निकाल्दै कुवेत च्याम्पियन बनेको हो। आधिकारिक प्रतियोगितामा यो कुवेतको नेपालमाथि पहिलो फाइनल जित हो।

अन्तिम समयमा नेपाल सम्हालिन नसक्दा कुवेत च्याम्पियन बनेको हो। खराब सुरुवातका बाबजुत बसिर अहमदले उत्कृष्ट इनिङ्स खेल्दै नेपाललाई जित नजिक पुर्‍याएका थिए। तर, अन्तिम ३ बल बाँकी हुँदा ४ रन चाहिएको अवस्था बसिर क्याच आउट हुन पुग्दा नेपाल जितनजिक पुगरे अलआउट भयो।

त्यसअघि खराब सुरुवात गरेको नेपाले ९२ रन जोड्दा ८ विकेट गुमाएको थियो। तर, नेपालका लागि बसिर अहमद र नन्दन यादवले नवौं विकेटका लागि ७२ रनको सानदार साझेदारी गर्दै टिमलाई खेलमा फर्काएका थिए। बसिरले ४३ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ८० रन बनाए।

त्यस्तै, नन्दन यादवले ३७ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा आसिफ शेखको २१ रन रह्यो। अन्य खेलाडीले भने दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

कुवेतका लागि अनुदिप चेनतामराले ३ विकेट लिँदा यसि पटेल र नभिनराज राजेन्द्रनले २-२ विकेट लिए। त्यस्तै, मोहम्मद सफिक र मोहम्मद अस्लामले १-१ विकेट लिएका थिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो। हङकङको मङ्गकक मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतका लागि रभिजा सन्दर्वानले ६३ रन बनाउँदा क्लिन्टो एन्टोले २६ रन बनाए।

त्यस्तै, मिट भावसरले १६ रन बनाउँदा उस्मान पटेलले २३ रन बनाएका थिए। त्यस्तै, थप दोहोरो स्कोरका रुपमा कप्तान मोहम्मद अस्लाम १३ रनमा अविजित रहे। सुरुवाति १० ओभरमा १ सय १० रन बनाएको उसले बाँकी १० ओभरमा ६४ रन मात्र बनाउन सकेको थियो।

नेपालका लागि सोमपाल कामी र नन्दन यादवले २-२ विकेट लिँदा करण केसी र कुशल भुर्तेलले समान १-१ विकेट लिएका थिए। प्रतियोगिताअन्तर्गत आजै भएको तेस्रो स्थानको खेलमा हङकङले कतारमाथि १ रनको रोमाञ्चक जित निकाल्यो।

प्रकाशित मिति : २०८१ चैत्र ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस