२६ बैशाख , काठमाण्डौँ । रातो मच्छिन्द्रनाथ रथ जात्राअन्तर्गत ललितपुरको लगनखेलस्थीत थतिटोलमा नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ । मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको केहि दिनपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ । रथलाई तान्दै लगनखेल पुर्याएपछि खुसियालीमा रथको माथिबाट नरिवल खसाल्न थालिएको मान्यता रहिआएको छ ।
नरिवल खसाल्ने दिनलाई पाटनवासीले उत्सवको रूपमा लिन्छन् । किंवदन्ती अनुसार रथ माथिबाट खसालिएको नरिवल समात्ने व्यक्तिको पहिलो सन्तानको रूपमा छोरा जन्मिन्छ भन्ने मान्यता छ । थतिटोलमा नरिवल खसाल्ने जात्रा मनाएपछि भोलिपल्ट बिहान महिलाहरूले रथ तान्ने परम्परा छ । नरिवल खसाल्ने जात्रा सकिएको केही दिनपछि ज्योतिषले रातो मत्स्येन्द्रनाथलाई जावलाखेल लैजाने साइत हेर्ने परम्परा छ ।
प्रकाशित मिति : २०८२ बैशाख २६ गते शुक्रवार

