२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

महिला टी-२० विश्वकप छनोटमा नेपाल हङकङसँग हार्‍यो

काठमाडौं । नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग सात विकेटले पराजित भएको छ।

मंगलबार थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा डकबर्थ लुइस (DLS) नियमका आधारमा नेपाल पराजित भयो।

नेपालले दिएको ३० रनको लक्ष्य हङकङले तीन बल बाँकी छँदा तीन विकेट गुमाउँदै पूरा गर्यो। वर्षाका कारण खेल पाँच ओभरमा सीमित गरिएको थियो।

हङकङका लागि शान्जिन शहजादले अविजित १५ रन तथा मारिको हिलले ११ रन बनाए। नेपालका कविता कुँवरले दुई विकेट लिइन्। नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै तीन विकेट गुमाएर २९ रन बनाएको थियो। सम्झना खड्काले १० रन बनाउँदा कप्तान इन्दु बर्माले ९ रन जोडिन्। हङकङका एलिसन सिउले तीन विकेट लिए।

यसअघि नेपाल र हङकङको खेल वर्षाका कारण रद्द भएको थियो। नेपाल दोस्रो खेलमा बहराइनसँग नौ विकेटले पराजित भएको थियो। हङकङ तीन खेलबाट चार अङ्कसहित समूह ‘सी’ को शीर्ष स्थानमा छ भने नेपाल तीन अङ्कसहित दोस्रो स्थानमा रहेको छ।

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस