२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सप्तकोशी नदीमा पानीको सतह बढ्यो, ३१ ढोका खोलियो

सुनसरी। सप्तकोशी नदीमा पानीको सतह बढेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार आइतबार बेलुकी १० बजे गरिएको जलसतह मापनमा कोशी ब्यारेजमा पानीको प्रवाह प्रतिसेकेण्ड दुई लाख २६ हजार ५६० क्युसेक पुगेको छ।

आइतबार दिउँसो २ बजे एक लाख ७४ हजार ३७५ प्रतिसेकेण्ड पानीको प्रवाह मापन गर्दा २३ ढोका खोलिएको थियो। प्रवक्ता खतिवडाका अनुसार कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले ३१ ढोका खोलिएका छन्।

कोशी ब्यारेमा पानीको प्रवाह एक लाख ५० हजार क्युसेक नाघेपछि खतराको सङ्केत स्वरूप रातो बत्ती बाल्ने गरिन्छ । सोहीअनुसार रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ।

पहाडी भेगमा भइरहेको वर्षाका कारण जलसतह बढ्दै गएको प्रहरी प्रवक्ता खतिवडाले बताए।

प्रकाशित मिति : २०८२ भाद्र १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस