काठमाडौं । नेपाली सेनासँगको संयुक्त सैन्य अभ्यासका लागि चिनियाँ जनमुक्ति सेनाको ३७ सदस्यीय टोली शुक्रबार काठमाडौं आइपुगेको छ। हिमालयन एयरलायन्सको विमानमार्फत लासा हुँदै टोली आएको सैनिक स्रोतले जनाएको छ।
भोलि (शनिबार)देखि सुरु हुने पाँचौं संस्करणको संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डसीप’ अन्तर्गत प्रतिआतंकवाद, युद्धकला र विपद् व्यवस्थापनमा केन्द्रित तालिम सञ्चालन हुनेछ। सेनाका एक उच्च अधिकारीका अनुसार यो अभ्यास १० दिनसम्म चल्नेछ।
यो अभ्यासको पहिलो संस्करण २०७४ वैशाखमा काठमाडौंमा भएको थियो भने दोस्रो र तेस्रो संस्करण चीनको छेन्दु र नेपालमा क्रमशः आयोजना भए। कोरोना महामारीका कारण केही वर्ष अभ्यास रोकिएको थियो र गत वर्ष चौथो संस्करण चीनमा सम्पन्न भएको थियो।
रक्षा मन्त्रालयका प्रवक्ता मनोजकुमार आचार्यका अनुसार, ‘भारत, अमेरिका, चीनसँग हुने सैन्य अभ्यास क्षमता अभिवृद्धि र अनुभव आदान-प्रदानमा केन्द्रित हुन्छ। यस्ता अभ्यासहरू कसैप्रति लक्षित हुँदैन।’
हालैको अभ्यासपछि पश्चिमी मुलुकहरूले नेपाल–चीन सैन्य अभ्यासको औचित्यप्रति प्रश्न उठाएका छन्। नेपालले अमेरिका र भारतसँग पनि नियमित सैन्य अभ्यास गर्दै आएको छ; भारतीय सेनासँग हुने वार्षिक अभ्यासलाई ‘सूर्य किरण’ नाम दिइएको छ।

