२०८३ भाद्र २ गते मङ्गलवार | 2026 August 18th Tuesday

बिग्रिदो मौसम कहिले सुध्रिन्छ ? यसो भन्छन् मौसमविद्

weather forecast nepal today

काठमाडौं । बंगालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’ चक्रवातको प्रभाव कमजोर हुँदै गएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार रातिदेखि यसको प्रभाव कमजोर हुँदै गएको हो।

मोन्थाको प्रभावसँगै हाल नेपालमा पश्चिमी वायू र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको पनि महाशाखाले जनाएको छ। शनिबार बिहान कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न भूभागहरुमा वर्षा भइरहेको छ। काठमाडौंमा पनि शनिबार बिहानैदेखि वर्षा भइरहेको छ।

शनिबार दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान छ। दिउँसो कोशी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी प्रदेश उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। शनिबार राति कोशी प्रदेश र मधेश प्रदेश साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहने पूर्वानुमान छ। राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : २०८२ कार्तिक १६ गते शनिवार
प्रतिक्रिया दिनुहोस