२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

फेरि मौसम बदलीको अर्को प्रणाली भित्रिँदै, काठमाडौँमा पनि वर्षा हुने

काठमाडौँ । पश्चिम नेपालमा वर्षा र हिमपात गराएर फर्किएको केही दिनमै फेरि पश्चिमी न्यून चापीय प्रणालीको असर नेपालमा देखिने भएको छ । आज रातिबाटै सुदूरपश्चिम क्षेत्रबाट प्रवेश गर्ने यसपालिको न्यून चापीय प्रणालीले काठमाडौं उपत्यकासमेत छुने र हल्का वर्षा गराउने भएको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार यो प्रणालीले बुधबार भने देशैभरि असर पार्ने छ । तराइका भूभागमा भने केही कम असर पार्ने जनाइएको छ ।

मौसमविद् पौडेलले रासससँग भने, ‘पर्सी बुधबार काठमाडौंमा पनि हल्का वर्षा हुन्छ की भन्ने अनुमान छ र तर प्रणाली कमजोर नै छ, ठूलो झरी भने छैन।’ यसले हिमाली र उच्च पहाडी क्षेत्रमा हिमपात तथा वर्षा गराउन सक्ने पनि उनले बताए ।

यो प्रणाली आजराति पश्चिम नेपालबाट प्रवेश गर्ने र मङ्गलबार दिउँसोसम्ममा गण्डकी तथा लुम्बिनी प्रदेशसम्म फैलिने छ। त्यसपछि मङ्गलबार राति अझै बाक्लिएर बुधबारदेखि भने देशैभरि फैलिने विभागले जनाएको छ। त्यसले काठमाडौंमा समेत बदली हुने र बुधबार रातिदेखि विस्तारै हट्दै जाने पनि पौडेलले बताए ।

 

प्रकाशित मिति : २०८२ माघ १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस