२०८३ साउन २३ गते शनिवार | 2026 August 8th Saturday

मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा, उपाधि जित्ने उद्घोष

काठमाडौं । साविक उपविजेता फ्रान्सले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टनमा सम्पन्न क्वाटरफाइनलमा फ्रान्सले मोरोक्कोलाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो। खेल जितेसँगै स्टार फरवार्ड केलियन एम्बाप्पेले यो पटक जसरीपनि उपाधि लिएर घर जाने बताए ।

खेलमा फ्रान्सको जितमा स्टार फरवार्ड केलियन एम्बाप्पे र ओसमान डेम्बेलेले एक–एक गोल गरे। एम्बाप्पेले ६०औँ मिनेटमा गोल गर्दै यस विश्वकपमा ८ गोल पुरा गरे र मेस्सीसँगै शीर्ष गोलकर्तामा उक्लिए। त्यसको ६ मिनेटमै डेम्बेलेले दोस्रो गोल थपे।

पहिलो हाफमा पेनाल्टीको अवसर गुमाएको फ्रान्सले दोस्रो हाफमा खेल पल्टायो। जितको खुसीबीच एम्बाप्पे ७८औँ मिनेटमा चोटका कारण मैदान छाड्नुपरेको छ, जसले सेमिफाइनलअघि चिन्ता बढाएको छ। गत विश्वकपमा सेमिफाइनलमा पुगेको मोरोक्को यसपटक क्वाटरफाइनलमै रोकियो। अन्तिम समयमा केही अवसर सिर्जना गरे पनि फ्रान्सेली रक्षापंक्ति र गोलकिपर माइक मेग्नानलाई पार गर्न सकेन।

प्रकाशित मिति : २०८३ असार २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस