काठमाडौँ । वाईवाईसहित चार ब्राण्डका चाउचाउ गुणस्तरहीन भेटिएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको निरिक्षणका क्रममा वाईवाईसहित चार ब्राण्डका चाउचाउ गुणस्तरहिन भेटिएका हुन् । गुणस्तरहीन भेटिनेमा गोलमोल, वाईवाई, प्रिमियम पिरो र मामा चाउचाउ रहेका छन् । सिजि फुड्स इन्टरप्राइजेज प्रालि, बाँसगढी–३ बर्दियाद्वारा उत्पादित ती चाउचाउको नमूना प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तर भेटिएको विभागले जनाएको छ ।
विभागले गोलमोलको ब्याच नम्बर (बि.बिएम२ डि), वाईवाईको ब्याच नम्बर (बि.बिएम१.एक्स), प्रिमियम पिरोको ब्याच नम्बर (बि.बिएम२.सी) र मामा चाउचाउको ब्याच नम्बर (बि.बिएम १.एक्स) का सबै खाद्य वस्तु बजारबाट फिर्ता गर्न पनि निर्देशन दिएको छ । सो ब्याचका चाउचाउ खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा १६ (क) विपरीत न्यूनस्तर रहेको विभागले जारी गरेको आदेशमा उल्लेख छ । त्यस्तै, विभागले अखाद्य प्रमाणित भएका चाउचाउ ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ को दफा ३८ को उपदफा (४) अनुसार बिक्री वितरणमा रोक लगाउन पनि आदेश दिएको छ ।

