काठमाडौं । स्वर्ग जस्तो सुन्दर देशको राजधानी काठमाडौं भन्ने शब्द विदेशीको मुखबाटपनि सुन्न सकिन्छ । हिमालको फेदमा, पहाडको काखमा, गोलाकार भित्रको समथर उपत्यका विमानबाट ओर्लीनासाथ ३६० भ्यू देख्दै विश्वको जुनसुकै देशबाट आएका विदेशीले माथी भनिएकै शब्द भन्छन् । तर हिमालको फेदमा रहेको प्रकृतीको सुन्दर उपहारले सधैं हिमालको दर्शन पाउँदैन ।
वातावरण प्रदुषणका कारण हिमाल जहिलै देखिन्न तर केही दिनको वर्षा र बाक्लो बादलका कारण धुम्मिएको काठमाडौं उपत्यकाको आकाश आज भने सयौं सन्झ्याल खुले झै खुलेको छ । बिहानैदेखि पारिलो घाम लाग्दा उपत्यकाको मौसम सफा देखिन्छ । यद्यपि अहिले आकाशमा बादल छरिइसकेको छ ।
मौसम खुलेसँगै बिहान उपत्यकाका विभिन्न स्थानबाट उत्तरी हिमशृङ्खला स्पष्ट रूपमा देखिएको छ । भनौं न धेरैपछि हिमालले उपत्यकालाई दर्शन दिएका छन् । हरियालीले ढाकिएका वरपरका डाँडाकाँडा त्यसमाथि देखिएका हिमाल वर्षापछिको सफा वातावरणमा आकर्षक देखिएका छन् ।
सफा मौसमका कारण सर्वसाधारणले लामो समयपछि हिमालको दृश्य अवलोकन गर्न पाएका छन् । वर्षाले धुलो–धुवाँ पखालिदिँदा दृश्यता बढेको छ भने उपत्यकाको प्राकृतिक सौन्दर्य पनि झन् उजागर भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणाली सक्रिय रहे पनि बिहीबार बिहान उपत्यकामा वर्षा नभएकाले मौसम केही खुलेको हो । यद्यपि दिउँसो वा साँझतिर स्थानीय रूपमा बादल विकास भई केही स्थानमा वर्षा हुन सक्ने सम्भावना भने कायमै रहेको मौसमविदहरु बताउँछन् । काठमाडौंबाट देखिएको यो हिमाल जुगल हिमाल हो ।
प्रकाशित मिति : २०८३ साउन ७ गते बिहिवार

