२०८३ साउन १३ गते बुधवार | 2026 July 29th Wednesday

कोरियन भाषा परीक्षाका लागि आवेदन खुला, ७,२०० जनालाई अवसर

काठमाडौं, साउन १२ – ईपीएस कोरिया शाखाले सन् २०२६ मा हुने कोरियन भाषा परीक्षाका लागि आवेदन खुला गरेको छ। यस वर्ष दक्षिण कोरियाका चार क्षेत्रमा कामदार पठाउन ७,२०० जनाका लागि परीक्षा आवेदन खुलाइएको हो।

शाखाका सूचना अधिकारी राजकिशोर साहका अनुसार उत्पादन क्षेत्रमा ५,०००, कृषि तथा पशुपालनमा २,०००, सेवा र वन क्षेत्रमा १००–१०० जनाको कोटा निर्धारण गरिएको छ।

नेपालले सन् २००८ देखि जीटूजी प्रणालीमार्फत कामदार पठाउँदै आएको छ। सरकारी च्यानलमार्फत जाने भएकाले ठगीको जोखिम कम हुने र पारिश्रमिक आकर्षक हुने कारणले कोरिया नेपाली युवामाझ लोकप्रिय गन्तव्य बनेको छ।

आवेदन योग्यता
– नेपाली नागरिक हुनुपर्ने
– उमेर १८–३९ वर्ष (सन् १९८६ जुलाई २८ देखि २००८ जुलाई २७ बीच जन्मिएका)
– फौजदारी सजाय नपाएको
– कोरियामा गैरकानुनी बसोबास नगरेको
– अन्य मुलुकमा जान नेपाल सरकारले रोक नलगाएको
– ई ( वा ई१) भिसामा पाँच वर्षभन्दा बढी नबसेको
– रङ्ग छुट्याउन सक्ने क्षमता भएको

आवेदन प्रक्रिया
– आवेदन म्याद: २०२६ जुलाई २७ देखि अगस्ट २
– आवेदन फाराम: eoers.epsnepal.gov.np
– राहदानीको बायो पेज, इमेल, मोबाइल नम्बर, छ महिनाभित्र खिचिएको पासपोर्ट फोटो अनिवार्य
– परीक्षा शुल्क: २८ अमेरिकी डलर (नेपाल राष्ट्र बैंकको विनिमय दरअनुसार)
– परीक्षा केन्द्र: ललितपुर, भैँसेपाटीस्थित यूबीटी भवन

परीक्षा र नतिजा
– एक दिनमा १,००० जनासम्म, पाँच शिफ्टमा परीक्षा
– नतिजा १५–३० दिनभित्र प्रकाशित हुने
– सफल उम्मेदवारको वैधता: २ वर्ष
– भाषा परीक्षा उत्तीर्णपछि सीप परीक्षण, त्यसपछि रोजगारी आवेदन प्रक्रिया सुरु

नियम
– तोकिएको समयमा मात्र प्रवेश, ढिलो आए प्रवेश निषेध
– सक्कल राहदानी र प्रवेशपत्र अनिवार्य
– मोबाइल, स्मार्ट वाच, ब्लुटुथ, एमपीथ्रीजस्ता उपकरण पूर्ण निषेध
– नक्कल गर्ने वा अर्काको नाममा परीक्षा दिने उम्मेदवारलाई ४ वर्षसम्म प्रतिबन्ध
– स्वास्थ्य परीक्षण वा प्रहरी रिपोर्ट प्रतिकूल भए रोजगारी आवेदन अस्वीकार

हाल करिब ७,००० जना कोरिया जाने पर्खाइमा रहेका छन्, जसलाई यस वर्षभित्र पठाउने तयारी भइरहेको शाखाले जनाएको छ।

 

प्रकाशित मिति : २०८३ साउन १२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस