तेहरान । बिहीबार बिहानदेखि अमेरिकाले इरानका १० भन्दा बढी ठूला सहरमा हवाई आक्रमण थालेको छ। निशाना बनाइएका सहरहरूमा केश्म, किश, काजेरून, अहवाज, अबादान, शादेगान, अरवन्दकेनार, बुशेहर, जाम र खोरमोज रहेका छन्। केश्म द्वीपस्थित एक आवासीय भवनमा भएको आक्रमणमा एक दम्पती र उनीहरूको २ वर्षीय बालकको मृत्यु भएको छ भने अन्य दुई बालबालिका घाइते भएका छन्।
अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले इरानको आईआरजीसीका कमाण्ड सेन्टर, मिसाइल तथा ड्रोन अड्डा, तटीय रक्षा केन्द्र र समुद्री सैन्य संरचनाहरूमा आक्रमण गरिएको जनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले जोर्डनस्थित अमेरिकी अड्डामाथि मिसाइल आक्रमण प्रयास भएको भन्दै “अब हाम्रो पालो हो” भनेका थिए।
विज्ञहरूको विश्लेषण
-अमेरिका इरानलाई ध्वस्त पार्नेभन्दा बढी दबाब सिर्जना गर्ने रणनीतिमा केन्द्रित।
-निरन्तर आक्रमणले होर्मुज जलडमरूमध्यमा इरानको नाकाबन्दी कमजोर पार्ने विश्वास भए पनि प्रभाव सीमित छ।
-इरानले सैन्य संरचना विभिन्न स्थानमा फैलाएकाले ठूलो क्षति कठिन।
-वास्तविक असरका लागि लामो युद्ध आवश्यक, हालका आक्रमण त्यस स्तरका छैनन्।
– यसले मध्यपूर्वका खाडी मूलुकमा ठूलो असर पर्ने भनिएको छ ।

