काठमाडौं – स्मार्टसेलको ३५ अर्ब रुपैयाँभन्दा बढीको घोटालामा एनसेलका अध्यक्ष सतिशलाल आचार्य र सीईओ माइल फोलोसहित नौ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ। आचार्य नेपाली मूलका सिंगापुर नागरिक हुन् भने फोले क्यानाडा र केन्या दुबै देशका नागरिक हुन्।
नेपाल प्रहरीको सीआईबीले अनुसन्धान थालेपछि उनीहरू नेपाल छाडेर फरार भएका छन्। यसअघि प्रहरीले एनसेलमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो।
पक्राउ पुर्जी जारी भएकामध्ये दूरसञ्चार प्राधिकरणका पूर्व अध्यक्ष भुपेन्द्र भण्डारी भने पक्राउ परेका छन्। बाँकी अझै फरार छन्। यसबीच नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्षसहित ६ सञ्चालकको सम्पूर्ण बैंक खाता रोक्का गरिएको छ।
कानुन अनुसार एनसेललाई लिलामीमा सहभागी हुनै नपाउने व्यवस्था हुँदाहुँदै स्मार्टसेलको सम्पत्ति खरिद गर्न सहभागी गराइएको छ। यसले लिलामी प्रक्रिया पूर्ण रूपमा सेटिङमा भएको पुष्टि गरेको छ।
दूरसञ्चार प्राधिकरणले स्मार्टसेलको लाइसेन्स २०८० वैशाखमै रद्द भइसकेको र सम्पत्ति नेपाल सरकारको नाममा हस्तान्तरण भइसकेको पत्र पठाइसकेको थियो। तर लिलामी प्रक्रियामा एनसेललाई सहभागी गराएर राज्यलाई ३५ अर्ब घाटा पुर्याइएको आरोप छ।

